साेलुखुम्बु: तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँदा यात्रु अलपत्र परेका छन् ।
मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले बताएका छन्। शुक्रबारयता बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि कुनै पनि विमानले उडान भरेका छैनन् ।
सोमबार सात उडान तालिका भए पनि एउटाले पनि उडान भर्न सकेन । उडान प्रभावित हुँदा करिब २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै बस्न बाध्य छन् । खुम्बू क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो ।
केहि यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ गएका छन् भने अधिकांस यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् ।
सगरमाथासहित विभिन्न हिमालको अवलोकन गर्न आउने पर्यटकका लागि हवाईयात्राबाहेकको विकल्प नभएकै कारण वर्षौदेखिको समस्या उस्तै छ ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६