प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ । अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ ।
नेपाल प्रहरीको रिपोर्ट लेख्छ, ‘समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारकका रुपमा देखिएको छ ।’
मुलुकमा सडक दुर्घटनापछि सबैभन्दा धेरै व्यक्ति आत्महत्याका कारण मृत्युको मुखमा पुगेका छन् । एक बर्षमा नेपालमा ५ हजार २ सय ८० जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता बिश्वराज पोखरेल बताउछन् ।
नयाँ प्रविधिका रुपमा रहेको सामाजिक सञ्जालको प्रयोग आउनुअघि हुने गरेको आत्महत्यामा पारिवारिक यातना मुख्य कारणका रुपमा थियो भने अहिले त्यस प्रकारका प्रविधिको दुरुपयोग मुख्य बनेको डिआईजी पोखरेल बताउछन् ।
पछिल्लो समय भइरहेका आत्महत्या गर्नेको कारण खोज्ने हो भने २४ प्रतिशतले आवेगमा आएर आत्महत्या गरेको देखिन्छ प्रवक्ता पोखरेलले जानकारी दिए ।
नैराश्यता र मानसिक दीर्घ रोगका कारण १५ दशमलव ५ प्रतिशत, पारिवारिक कलहका कारण पनि १५ दशमलव ५ प्रतिशत नै, गरिबिका कारण ७ दशमलव ५ प्रतिशत, प्रेममा धोका पाएको कारण ५ शदमलव ५ प्रतिशत, असफलताका कारण २ दशमलव ५ प्रतिशत, आर्थिक लेनदेनका कारण २ प्रतिशत, व्यावसायिक असफलताका कारण १ दशमलव ५ प्रतिशत र नयाँ प्रविधिको दुरुपयोगका कारण २४ प्रतिशतले आत्महत्या गर्ने गरेको उहाँले जानकारी दिए ।
बितेको ६ बर्षमा आत्महत्या गर्नेको संख्या २७ हजार ९ सय १४ रहेको छ । आवेगमा आएर आत्महत्या गर्ने युवा युवतीको कारण खोज्ने हो भने सामाजिक सन्जालको दुरुपयोग बढी रहेको देखिन्छ, डिआईजी पोखरेलले बताए । आजकाे नेपाल समाचार पत्रमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६