काठमाडौं: जेठमा नभएको गर्मी असार लाग्दै गर्दा धपक्कै बलेको छ । मानिसलाई मात्र हैन, स्वतन्त्र आकाश र जङ्गलमा विचरण गर्ने प्राणीका लागि पनि गर्मी असह्य बनेको छ ।
सहरतिर विचरण गर्ने चराहरू गर्मी सहन नसकेर नेपालगञ्ज बजारक्षेत्रमा चरा सडकमा खसेर मरेकोे स्थानीय बताउँछन् । “सहरमा चरा खसेर मरेको मैले पनि थाहा पाएँ”, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले थपे, “निकुञ्जभित्र भने हामी गर्मीबाट संरक्षण गर्ने अभियानमा छौँ । ” केही समयअघि डढेलोले वन्यजन्तु तर्साएको थियो । लगत्तै बढेको गर्मीले घनाजङ्गलमा बस्ने वन्यजन्तु होस् वा चराचुरुङ्गी आलसतालस परिरहेका छन् । त्यसक्षेत्रमा यतिबेला ४२ र ४३ डिग्री सेन्टिग्रेडको आसपासमा तापक्रम रहने गरेको छ ।
प्रमुख संरक्षण अधिकृत रेग्मीका अनुसार वन्यजन्तु र पक्षीले हिजोआज मध्य दिउँसो सयर गर्न र आहारा चर्न छाडेका छन् । “चराहरू साँझ, बिहान आहारा खाएर दिउँसो रुख, झाडीको शीतलमा आराम गर्न थालेका छन्,” रेग्मीले भन्नुभयो, “सुक्खा क्षेत्रमा घाँसेमैदानको विकाससँगै पोखरीमा पानी भरेर प्यास मेटाइदिने प्रयास गरिरहेका छौँ । ” उनका अनुसार यस वर्षमात्र निकुञ्जमा ७५ वटा पोखरी खनिए । जसमा तीन स्थानको प्राकृतिक स्रोतबाट पानी ल्याइएको छ । यसैपाला सञ्चालनमा ल्याइएको सोलार पम्पबाट पनि पोखरीमा पानी भरिएका छन् ।
चितवनमा पनि यतिबेला ४० डिग्री आसपास तापक्रम पुगिसकेको छ । देशकै पुरानो चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु र चराचुरुङ्गी चिसोको खोजीमा सिमसार आसपास पुगेका छन् । पर्सा र बाँकेको जस्तो अति गर्मी यहाँको निकुञ्जभित्र नभएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । तथापि सिमसार र पानीको स्रोत टाढा रहेका स्थानका वन्यजन्तु र पक्षी अप्ठ्यारोमा पर्छन् ।
“अझ आहाल खेल्ने वन्यजन्तुका लागि त्यस्तो स्थान गर्मीमा असह्य हुन्छ,” उनले भन्नुभयो, “त्यस्ता स्थानका वन्यजन्तु जोगाउन कृत्रिम पोखरी बनाइएका छन् । ” वर्षा नदी नभएका स्थानमा कृत्रिम पोखरी वन्यजन्तुका लागि वरदान हुने उन बताउछन् । चितवन राष्ट्रिय निकुञ्ज उत्तर र पश्चिममा नारायणी, पूर्वमा राप्ती र दक्षिणमा रिउ नदीले घेरिएको छ । जसका कारण पनि यहाँ पानीको स्रोत राम्रो छ । त्यो पानी लगेर समयमै वन्यजन्तुको संरक्षण गर्न निकुञ्जका भित्री भागमा यस वर्ष ६० वटा कृत्रिम पोखरी थपिएका छन् । यसअघि बनाइएका सयौँ पोखरीको मर्मत सम्भारमा निरन्तरता दिइएको ढकालले जानकारी दिए ।
अन्यत्रभन्दा बढी सुक्खा रहेको पर्सा राष्ट्रिय निकुञ्जका वन्यजन्तु जोगाउन निकुञ्जका पदाधिकारी आफैँ पानी ओसार्र्दै छन् । वन्यजन्तुको बास बढेसँगै आरक्षबाट निकुञ्जमा परिणत भएको निकुञ्जको सबैभन्दा ठूलो समस्या गर्मी र पानीको अभाव रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले बताए । आजकाे गोरखापत्रमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६