एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित निकालेको छ । सोमबार राती वंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो ।
३ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेटको क्षतिमा सहजै पुरा गर्यो । बंगलादेशलाई सहज जित दिलाउन अलराउन्डर सकीब अल हसन र लिटन दास नायक सावित बने ।
सकीब ९९ बलमा १ सय २४ रनमा अविजित रहँदै एतिहासिक जित पक्का गरे । त्यस्तै आक्रमक ब्याटिङ गरेका लिटन दासले ६९ बलमा ९४ रनमा नट आउट रहँदै जित पक्का गरे । लिटन र सकीबले चौथो विकेटका लागि १ सय ८९ रनको अविजित साझेदारी गर्दै जितसम्म पुर्याए ।
सकीबले ८३ बलमा वान डे करियरको नवौं तथा यस विश्वकपमा आफ्नो दोस्रो शतक प्रहार पुरा गरे । सकिबले यस अघि इंग्ल्यान्डविरुद्ध पनि शतक प्रहार गरेका थिए ।
नवौं ओभरको दोस्रो बलमा आन्द्रे रसेलले क्रिस गेलबाट क्याच गराउनु अघि सौम्य सरकारले २३ समान २ चौका र छक्का सहित २९ रन जोडे । १८ ओभरको तेस्रो बलमा शिल्डन कर्टेलले रन आउट गर्नु अघि अर्का ओपनर तामिम इकवालले ५३ बलमा ६ चौका सहित ४८ रनको योगदान दिए । मुश्फिकुर रहिम १ रनमा आउट भए । वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र ओशन थोमसले समान १ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २१ रन बनाएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६