काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले अन्य प्रदेशको भन्दा सानो आकारको बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आइतबार प्रदेश सभामा आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरे । यो रकम अन्य प्रदेशको भन्दा न्युन हो ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश १ र २ को भन्दा करिव १० अर्ब, प्रदेश ३ को भन्दा २० अर्ब,गण्डकी प्रदेशको भन्दा ४ अर्ब, प्रदेश ५ को भन्दा ८ अर्ब र कर्णाली प्रदेशको भन्दा ६ अर्ब रुपैयाँ कम बजेट विनियोजन गरेको हो । चालु आर्थिक वर्षका लागि २५ अर्ब रकम विनियोजन गरेको सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि त्यसको ३ अर्ब बढाएर यो रकम प्रस्तुत गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारकाे आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता नवराज अर्यालले संघले दिएको अनुदान र प्रदेशको खर्च गर्ने स्रोत तथा क्षमताका आधारमा बजेट विनियोजन गरेको बताए । उनले न्यायोचित ढंगले बजेट विनियोजन गरेको बताउँदै यो बजेटले सामाजिक तथा आर्थिक क्षेत्रमा परिवर्तन गरेर प्रदेशलाई अगाडी ल्याउने बताए ।
अन्य प्रदेशका भन्दा किन सानो बजेट विनियोजन गरेको भन्ने आजको न्युजको प्रश्नमा प्रवक्ता अर्यालले भने ′अरु प्रदेशले आन्तरिक ऋण घाटामा गएर बजेट विनियोजन गरेका छन्,हाम्रो बजेट सन्तुलित छ ।′ हामीले खर्च गर्न सक्ने क्षमताका आधारमा बजेट विनियोजन गरिएको छ ।′
तर सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस संसदीय दलका नेता रण बहादुर रावलले सुदूरपश्चिम प्रदेश सरकारले केन्द्रसंग लभिङ तथा छलफल गर्न नसक्ने,बजेटमा गम्भीरता र अनविज्ञता लगायतका कारणले पनि बजेटको आकार सानो भएको बताए । नेता रावलले यो बजेटले औपचारिकता मात्र पालना गरेको बताए ।
उनले भने ′सुदूरपश्चिममा मुलुलको एक तिहाई जलस्रोत छ,खर्च गर्न सक्ने स्रोतहरु प्रसस्त छन तर यो सरकारको काम गर्ने इच्छाशक्ति नभएको र कार्यकर्तालाई मात्र बल पुग्ने खालको मनोवृती भएका कारण बजेट यस्तो आएको हो ।′
संघले सुदूरपश्चिम सरकारलाई ७ अर्व ९५ करोड रुपैयाँ अनुदान दिएको छ । चालु आर्थिक वर्षका लागि २५ अर्ब बजेट प्रस्तुत गरेको सरकारले त्यसको २७ प्रतिशत मात्र खर्च गर्न सक्यो । त्यसले पनि अगामी आर्थिक वर्षको बजेटको आकार अन्य प्रदेशको भन्दा न्युन भएको औंल्याउन सकिन्छ ।
अन्य प्रदेश भन्दा प्राकृतिक सम्पदामा धनि तथा विविध स्रोतहरु भएको र अरु भन्दा अविकसित सुदूरपश्चिम सरकारले विनजयोजन गरेको बजेट परिपक्क तथा ठोस तरिकाले नआउनु विडम्बना हो ।
कुन कार्यक्रममा कति बजेट ?
सुदूरपश्चिम प्रदेश सरकारले चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ । बजेटमा मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै, कृषियोग्य भूमिमा सिँचाई सुविधा विस्तारका लागि एक अर्व १६ करोड, ९ जिल्लामा नमूना लिफ्ट सिँचाई प्रणालीका लागि १० करोड,एक स्थानीय तह एक औद्योगिक उत्पादनका लागि तीन करोड र प्रदेशमा खाद्य डिपो स्थापना, घरेलु उद्योग स्थापनाका लागि ७ करोड बजेट विनियोजन भएको छ ।
यस्तै प्रदेश गौरवका जलविद्युत आयोजनाका लागि १० करोड, चार वटा जलविद्युत आयोजनाको डिपिआर सकेर निर्माणका लागि ५ करोड, नदी नियन्त्रणका लागि २८ करोड, खानेपानी संरचना निर्माणका लागि ७९ करोड, रणनीतिक सडक विस्तारका लागि एक अर्व ७१ करोड ७० लाख, प्रदेश गौरवका सडकका लागि ४२ करोड बजेट विनियोजन गरिएको छ।
कञ्चनपुरमा भैसीफार्म स्थापना गर्न चार करोड, ८० हेक्टर क्षेत्रफलमा केरा खेतीका लागि २ करोड अनुदान, मेसिन उपकरण अनुदानमा ५ करोड, चिस्यान केन्द्र निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार २, २०७६