काठमाडौं : प्रदेश १ सरकारले आइतबार ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ।
कुल विनियोजन मध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३ दशमलव ९ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार अर्थात् ५५ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरिएको छ।
वित्तिय व्यवस्थातर्फ ८ करोड अर्थात शून्य दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ। अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरिएको छ।
प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आइतबार आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेका हुन्। बजेटले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ।
आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतका रुपमा रहेको बजेटमा उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ६१ करोड रहने जनाइएको छ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६