काठमाडौं: फूलमाया मगरको पढ्ने रहर रहरमा नै सिमित रह्यो । खोटाङ लामिडाँडाकी मगरले १२ वर्ष मै विहे भएपछि पढ्नबाट बन्चित भएको बताइन्,‘हाम्रो पालामा अहिलेको जस्तो स्कूल थिएन, पढ्ने चलन पनि थिएन । गाउँमा भारी बोकी मेलापात, गरेर हुर्केको म त । १२ वर्ष उमेरको हुँदा नै बुबाआमाले बिहे गरिदिए ।’
उनलाई खुब पढ्न मन लागेको भएपनि पढ्नका लागि स्कूल नभएको उनी बताउँछिन्, ‘मेरो भाईहरुले बाँसको कलम बनाएर पढ्ने गर्थे, खरीले लेखेको देख्थेँ के के लेखे हो, केके पढे । त्यो जमानामा किताब कापि थिएन । अहिले त कति राम्रो समय आयो । सबैले पढ्न पाएका छन् । राम्रो राम्रो लुगा लगाएर सबै जना स्कूल जान्छन् ।’
आफ्नोे छोराछोरीहरुलाई आफूले सकेजति पढाएको सुनाउँछिन् । आफ्नोे नाति नातिनाहरुले पढे लेखेको देख्दा असाध्यै खुशी मान्छिन् । पछि प्रौढ शिक्षा आएपछि पनि नपढेको उनी बताउँछिन्, ‘प्रौढ शिक्षा आएपछि पढ्न मन लागेको बुढोलाई सुनाको थेँ, बुढोले त मर्ने बेला के पढ्छस है बुढि भने हा....हा....हा । बुढोले त्यसो भनेपछि त, हो जस्तै लाग्यो । मेरो पनि मनै मरेर गयो ।’
देशमा बढेको विकृतिको बारेमा पनि उनी चिन्तित छिन्, ‘पढेलेखेकाले त देशको विकास गर्नुपर्छ, राम्रो मात्र काम गर्नुपर्छ । खै अहिले त सधैँ बलात्कार रे, आमाले छोरालाई काट्यो रे, कसले कसलाई मार्यो रे भन्दारछन् सारै डर पो लागेर आउँछ ।’ पढेर पनि राम्रो काममा दिमाग लगाउन सके पो देश विकास हुन्छ । धेरै पढेर पनि दिमाग बिग्रीन्छ भन्थे, हो कि कसो नानि ।
उनी काठमाडौँको पशुपतिकोे कैलाश डाँडामा विगत ९ वर्षदेखि बदाम व्यापार गर्दै आएकी छिन् । गाउँको कामले वाक्क भएर काठमाडौँ आएको उनी सुनाउँछिन् । बदामसगैँ चट्पटे, पानी, फ्रुटी पनि बेच्छिन् । १० रुपैयाँ पाथि हुँदा देखि बदामको व्यापार शुरु गरेको अहिले पाथीको तीनसय पुगेको उनी बताउँछिन् ।
कालिमाटिबाट बदाम लिएर कैलाश डाँडामा दिनको १२ मानादेखि २ पाथिसम्म व्यापार गर्ने उनको दैनिकी बनेको छ । उनी भन्छिन्, ‘गर्मि मौसममा खासै बदाम बिक्री हुन्न । जाडो मौसममा धेरैले बदाम खान्छन् दिनको पाँच पाथी त एक दिनमा नै सकिन्छ । हिउँदको बेला एक बोरा ल्यायो भने ३ दिनमा सकिन्छ । अहिले त महिनामा एक बोरा पनि बिक्री हुँदैन ।
गौरीघाटमा डेरा लिएर श्रीमान्सँग बस्दै आएका छन् । उमेरले ६० वर्षकी फूलमायाले अहिले आफैले कमाई गरेर श्रीमानलाई सहारा दिइरहेकी छिन् । उनी भन्छिन्, ‘बुढो ७० वर्षको छन् उहिले इन्डिया गएर अलि अलि कमाएर हामीलाई पाल्थ्यो, अहिले मेरो पालो ।’
छोराछोरी सबैको बिहे भइसकेको छ । आफूलाई समस्या परेको बेला आफ्नोे छोरा बुहारीले हेर्ने गरेको उनी बताउँछिन । बिहान चाँडै उठेर भान्सा तयार पारेर आफु खाना बोकेरै व्यापार गर्न बिहानको ८ बजे नै कैलाश डाँडा आइपुग्छिन् । दिनभरिको व्यापार सकेर साँझ कोठा फर्केर खाना बनाएर खाईसक्दा ९ बज्ने गरेको दैनिकी उनी सुनाउँछिन् ।
व्यापारबाट आएको पैसाले दैनिकी चलिरहेको छ भने दिनको दुईसय देखि तीनसय रुपैयाँसम्म सहकारीमा जम्मा गर्दै आएकी छिन् ।
उनलाई आफ्नोे गाउँ रमाईलो लागे पनि काठमाडाँैमा नै बस्ने रूची भएकोबताउँछिन्, ‘गाउँ छोडेर आको धेरै भयो नानि.. अब त गाउँ गएर कुटो–कोदालो, मेलापात गर्न सकिन्न ।’
काठमाडौँ आएको यति धेरै वर्ष भएपनि टाढा भने घुम्न नगएको बताउँछिन्, ‘ दक्षिणकालि मन्दिर र मनकामना गएको छु । अरु ठाउँ घुम्न गएको छैन् । अब जनकपुरधाम जाने धोको छ ।’
प्रकाशित मिति: आइतबार, असार १, २०७६