काठमाडौं : बसमा चढि यात्रुहरुलाई लुट्ने तथा सामान चाेर्ने ८२ जना पकेटमारहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जेठ महिनामा राजधानीबाट ८२ जना पाकेटमारलाई पक्राउ गरेको जनाएको हो । सार्वजनिक बस तथा माइक्रोबसका यात्रुबाट गोजी तथा झोलामा रहेको नगद, मोबाइल, गरगहना चोरी गरिरहेकै अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ। ८२ मध्ये चार जना महिला रहेका छन् ।
ती व्यक्तिहरूको साथबाट ६ लाखभन्दा बढी रुपैयाँ बरामद भएको प्रहरीले जनायो। जसमा २१ थान मोबाइल र ल्यापटप २ थान पनि छन्। समूह बनाएर सार्वजनिक यातायातका साधनमा यात्रुहरू लुट्ने उनीहरूलाई पक्राउ गरी विभिन्न मुद्दामा अनुसन्धान थालिएको परिसरले जनाएको छ।
परिसरले केही समययता सार्वजनिक सवारीसाधनमा सादा पोशाकका प्रहरी खटाएको छ। तिनीहरूले यात्रुहरूको सुरक्षा अवस्थाबारे निगरानी गर्छन्। अभियानकै रुपमा जेठ १ गतेदेखि प्रहरीले यसलाई निरन्तरता दिएको थियो।
प्रकाशित मिति: आइतबार, असार १, २०७६