इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज दुई कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदैछ । इंग्ल्यान्डको म्यान्चेस्टरमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुने खेलमा दुवै एक अर्कालाई हराउने दाउमा मैदानमा उत्रिनेछन् ।
विश्व क्रिकेटमा भारत र पाकिस्तानबीच बिरलै प्रतिस्पर्धा हुने गर्दछ । आन्तरिक विवादका कारण यी दुई देशले लामो समय देखी एक अर्कामा सिरिज खेलेका छैनन् । तुलनात्मक रुपमा पाकिस्तान भन्दा भारत बलियो टोली मानिन्छ । तर पाकिस्तानले वेला वेला अप्रत्याशित नतिजा निकाल्दै विश्व क्रिकेटलाईनै आश्चर्यमा पार्दै आएको छ ।
सन् २०१७ को च्याम्पियनशीप ट्रर्फिको फाईनलमा भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको थियो । इंग्ल्यान्डमा दुईवर्षपछि पाकिस्तान त्यहि नतिजा दोहोराउन चाहान्छ ।
यता भारत भने त्यो हारको बदला लिने सोचमा छ । त्यस यता भारत र पाकिस्तानबीच २ खेल भएका छन् । गत वर्ष एसिया कपका दुबै खेलमा भारतले पाकिस्तानलाई सहजै हराएको थियो ।
विश्वकपमा पाकिस्तानले हालसम्म भारतलाई हराउन सकेको छैन । यी दुई देशबीच विश्वकपमा ६ खेल हुँदा ६ खेलमै पाकिस्तान पराजित भएको छ । त्यसैले पाकिस्तान आजको खेलमा भारतलाई हराउदै इतिहास रच्ने अवसर र चुनौती दुबै छ । प्रमुख उपाधीको दाबेदार टोली मध्य एक भारत भने इतिहासको नतिजा कायमै राख्ने दाउमा छ ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६