नेपाल संस्कृत विश्वविद्यालय योग विभागका प्रमुख डा हरिप्रसाद पोखरेलले नेपाललाई विश्वमै योग पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने बताएका छन्, “नेपालको हिमवत्खण्ड र मानस खण्डको बीचमा योगको विकास भएको हो, नेपालमा वर्षेनी हजारौँ विदेशी योग सिक्नकै लागि नेपाल आउँछन्, काठमाडौँमा ५० योग केन्द्रले विदेशीलाई मात्र योग सिकाउँछन् ।
नेपाल महर्षि वैदिक फाउण्डेशनले देशभरका ७५ गुरुकुल, एक दर्जन विद्यालयमा योग र ध्यानको कार्यक्रम अघि बढाएको छ । योग, ध्यान, यज्ञ र आयुर्वेदका माध्यमबाट वैदिक युगको पुनःजागरण गर्न लागिएको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा बताए । भावातीत ध्यानसहितको सिद्धि गरेका वैदिक पण्डितले युरोप अमेरिकाका मानिसको ग्रह शान्ति गर्न यज्ञ गर्दै आएका छन् । यसका लागि विदेशी पर्यटकको नेपाल आवागमन भइरहने गरेको छ ।
पतञ्जलि योग पीठले ७५ वटै जिल्लामा शाखा खोलेर ४० हजार योग शिक्षकमार्फत योगको पुनःजागरण शुरु गरेको जनाएको छ । ओशो तपोवनमा योग ध्यानलगायत साधनाका लागि धाउने विदेशीको सङ्ख्या पनि उल्लेख्य छ ।
नेपालीले योग गरेर निरोग भए विदेशिने अर्बौँ डलर स्वास्थ्यका नाममा जानबाट रोकिने पतञ्जलि योग पीठका अध्यक्ष शालिकराम सिंह बताउछन् । योग प्रशिक्षक निर्यात गर्नसके श्रमका लागि विदेशिएकाले भन्दा राम्रो र इज्जतको रोजगारीको अवसर विदेशमा पाउने सम्भावना रहेको उहाँको भनाइ छ ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐरले देशका ७२ जिल्लामा राजयोग र ध्यान सिकाउने अभियान शुरु गरिएको जानकारी दिए । यी र यस्तै योग, ध्यान साधनाका विधि अपनाउने संस्था नेपालमा दर्जनौँ छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार ६ गते (२१ जुन) पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस देशभर मनाउन आह्वान गरेको छ । प्रदेश र स्थानीय सरकारका साथै जिल्लास्थित कार्यालयलाई पनि विविध कार्यक्रम आयोजना गरी योग दिवस मनाउन आग्रह गरिएको जनाइएको छ ।
दिवस मनाउन शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । समितिले दिवस मनाउन आवश्यक तयारी शुरु गरेको छ । शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा अन्तराष्ट्रिय योग दिवस व्यवस्थापन समिति गठन गरिएको जनाइएको छ । रासस
प्रकाशित मिति: आइतबार, असार १, २०७६