काठमाडौं: शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामूलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीव्र पारेका छन् ।
गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानीलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी, लगानीकर्ता र नेताहरू समेत लागिपरेका हुन् ।
शिवपुरी ईको टुरिजम एन्ड केबलकार लिमिटेडले गोकर्णेश्वर नगरपालिका–३ जगडोलस्थित सहिदपार्कबाट शिवपुरी–नागार्जुन निकुञ्जभित्रको मुलाबारीसम्म ३.६ किलोमिटर लम्बाइको केबलकार बनाउन वातावरणीय प्रभाव मूल्यांकन अध्ययन (ईआईए) का लागि वन तथा वातावरण मन्त्रालयसँग स्वीकृति माग गरेको छ ।
निकुञ्ज स्रोतका अनुसार उक्त कम्पनीका अध्यक्ष इन्द्र लामालगायतले शिवपुरी–नागार्जुन निकुञ्जको ‘कोर एरिया’ मा पर्ने मुलाबारीसम्म केबलकार र रिसोर्टसहितको पर्यटन प्रवर्द्धन कार्यक्रम अघि सारेका हुन् । यो परियोजना सफल बनाउन सत्तारूढ नेकपाका नेता कृष्ण केसी र गोकर्णेश्वर नगरपालिकाले सघाइरहेका छन् ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गोकर्णेश्वरदेखि शिवपुरीको मुलाबारीसम्म केबलकार निर्माण प्रक्रिया अघि बढाइए पनि निकुञ्जका कारण समस्या उत्पन्न भएको बताए । ‘धेरै काम अघि बढेको थियो,’ चालिसेले भने, ‘अहिले आएर समस्या निम्तिएको छ, छलफल गरेर अघि बढ्छौँ ।’
केबलकार सञ्चालनका लागि १ सय ४० जना सेयरधनीसहितको समिति बनाइएको उनले बताए । प्रस्तावित केबलकारको दोस्रो स्टेसन मुलाबारी क्षेत्र निकुञ्जको कोर एरियामा पर्छ भने संरचना समुद्री सतहदेखि २२९६ मिटरमा निर्माण हुनेछ । केबलकारको अन्तिम बिन्दु प्रस्ताव गरिएको मुलाबारीको बस्ती सरकारले २०३८ सालमा तारेभीरमा स्थानान्तरण गरेर खाली गरेको थियो । जलाधार संरक्षणलाई थप प्रभावकारी बनाउन त्यतिबेला बस्ती खाली गरिएको थियो ।
बूढानीलकण्ठ नगरपालिका–३ देखि शिवपुरी पिकसम्म केबलकारसहितको संरचनाका लागि पर्यटन व्यवसायी सोनाम शेर्पालगायतले लबिइङ गरिरहेको स्रोतले जनायो । स्रोतका अनुसार यसमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पासमेत लागिपरेका थिए । शेर्पाको ताप्लेजुङ पाथीभरामा हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ ।
नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन डाँडा (जामाचो) सम्म केबलकारसहितको रिसोर्ट र पार्क निर्माणका लागि केही व्यापारी र स्थानीय नेता लागिपरेका छन् । स्थानीय बासिन्दासमेत रहेका काठमाडौं ७ (ख) का नेकपा सांसद प्रकाश श्रेष्ठलगायतले यसमा साथ दिइरहेका छन् ।
प्रदेश ३ ले उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि आर्थिक वर्ष २०७५/७६ मा बजेट छुट्याएको थियो तर समय अभावका कारण यो वर्ष काम पूरा नभएकाले आगामी आर्थिक वर्षका लागि डीपीआरको कार्यक्रम सारिएको सांसद श्रेष्ठले बताए । ‘यो परियोजना सफल बनाउन पार्टी अध्यक्षज्यू (पुष्पकमल दाहाल) लगायतको साथ र सहयोग छ, उहाँहरू पोजेटिभ हुनुहुन्छ,’ सांसद श्रेष्ठले शनिबार कान्तिपुरसित भने, ‘आगामी आर्थिक वर्षमा डीपीआर पूरा गरेर काम अघि बढाइनेछ । नागार्जुनमा राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिने देखिन्छ ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्ज (आरक्ष संरक्षित क्षेत्रभित्र केबलकारसहितको संरचनाका लागि व्यवसायीहरूको दौडधुप र दबाब चलिरहे पनि कानुनी रूपमा संरक्षित क्षेत्रभित्र केबलकार चलाउन दिने व्यवस्था नभएको बताए । ‘निकुञ्जभित्र केबलकारसहितको पर्यटन प्रवर्द्धन परियोजनाका लागि हामीकहाँ थुप्र्रै प्रस्ताव आएका छन्,’ खड्काले भने, ‘अहिलेको निकुञ्ज ऐन, नियमावलीले ती चीजलाई चिन्दैन, त्यसैले अनुमति दिन मिल्दैन ।’
संरक्षित क्षेत्रभित्र पर्यापर्यटन सञ्चालनबारे अलग्गै कार्यविधि बन्दै गरेकाले निकुञ्ज वा संरक्षित क्षेत्रभित्र केबलकारलगायत अन्य संरचना निर्माणको अनुमति दिने निर्णय अहिले गर्न नमिल्ने खड्काले तर्क गरे । शिवपुरी–नागार्जुनसहित लाङटाङ र सगरमाथा निकुञ्जमा समेत केबलकार सञ्चालनका लागि ईआईए गर्न विभागसँग स्वीकृति मागेको देखिन्छ ।
शिवपुरी–नागार्जुन निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) डिलबहादुर पुर्जा पुनले पर्यटन प्रवर्द्धन गर्न भन्दै स्थानीय तहका नेताहरूमार्फत निकुञ्जभित्र केबलकार र रिसोर्ट सञ्चालनको विषयले प्राथमिकता पाउने गरेको बताए । ‘नेताहरूमार्फत केबलकारलगायत संरचना निर्माणको विषय बाहिर आउने गरेको मैले देखेँ,’ करिब ८ महिना निकुञ्जको नेतृत्व गरेका पुनले भने, ‘हामीसँग (निकुञ्ज) भने त्यति धेरै समन्वय भएको पाइन्न ।’ आजकाे कान्चिपुरमका समाचार छ ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६