काठमाडौं: महाभूकम्प २०७२ पछि निजी आवासमा क्षति पुगेर लाभग्राहीको सूचीमा छुट भएका भूकम्पपीडितको पुनः जाँच सर्वेक्षणको समयावधि फेरि थपिएको छ ।लाभग्राही सूचीमा छुटेका भूकम्पपीडितको लागि पुनः जाँच सर्वेक्षण १५ चैतबाट सुरु गरिएको थियो । वैशाख मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत स्थलगत लगत संकलनको समयावधि थप गरेर जेठ मसान्तसम्म पुर्याइएको थियो । फेरि दोस्रोपटक समयावधि थप गरेर अब छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत स्थलगत लगत संकलनको कार्य १५ असारसम्म हुने भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको बताए । ‘२०७६ जेठ मसान्तभित्र दर्ता गरी कार्य विधिअनुसार सिफारिस प्राप्त भएका गुनासाहरूको सर्वेक्षणका लागि समय थप गरिएको हो,’ उनले भने ।
सहप्रवक्ता घिमिरेले भूकम्प पीडितहरूलाई ध्यानमा राखी म्याद थप गरिएको समेत जानकारी गराए ।
प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा हालसम्म विभिन्न जिल्लाबाट ६० हजार गुनासोकर्ताको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले थप गरिएको समयावधिभित्र आआफ्नो क्षेत्रमा खटिएका प्राविधिकहरूमार्फत लगत संकलन कार्य गराउन सबै गुनासोकर्तालाई आग्रह गरेको छ । वास्तविक पीडितहरूको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गर्न र वैकल्पिक बासको व्यवस्था भएकाहरूलाई सर्वेक्षणमा समावेश नगर्न भूकम्प प्रभावित स्थानीय तहका पदाधिकारीहरूलाई प्राधिकरणले अनुरोध पनि गरेको छ ।
प्राधिकरणले गैरपीडितलाई सिफारिस गरिएको पाइएमा सिफारिसकर्तामाथि कारबाही हुनेसमेत जनाएको छ ।
प्राधिकरणबाट स्थानीय तहमा खटिएकामध्ये तोकिएका करिब ५५० इन्जिनियरले गुनासोकर्ताको घरघर गई लगत संकलन गर्दै आएका छन् । आजकाे राजधानीमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६