साविक विजेता अष्ट्रेलिया एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ । ३ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ४५.५ ओभरमा अल आउट हुँदै २ सय ४५ रनमा समेटियो ।
पहिलो विकेटका कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले १५.३ ओभरमा १ सय १५ रनको उत्कृष्ट साझेदारी गदैं राम्रो सुरुवात दिलाएपनि अन्य खेलाडीले त्यसलाई निरन्तरता दिन नसक्दा श्रीलंका पराजित हुन पुगेको हो । तर मिचेल स्टार्कले परेरालाई ५२ रनमा बोल्ड आउट पेभिलिएन फर्काएपछि अष्ट्रेलिया खेलमा फर्किएको थियो ।
मध्यक्रम र तल्लोक्रमका कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । लाहिरु तारिमने १६, कुशल मेन्डिस ३०,एन्जिलो मैथ्युज ९,तिसेरा परेरा ७ रनमा आउट भए । त्यस्तै इसुरु गडाना ८, लाथिस मलिङ्गा १ धनन्जय डि शिल्भाले १६ रन जोडे । अष्ट्रेलियाको सहज जितमा मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए । केन रिचड्सनले ३,प्याट कमिन्स २ र जोसन बेहनडर्फको नाममा १ विकेट रह्यो ।
त्यसअघि लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । उसका लागि ओपनर तथा कप्तान आरोन फिन्चले सानदार शतक प्रहार गरे । जारी विश्वकपमा शतक प्रहार गर्ने फिन्च पहिलो कप्तान समेत हुन् ।
४४ ओभरको तेस्रो बलमा लाथिस मलिङ्गाले बोल्ड आउट गर्नुअघि स्मिथले ५९ बलमा ७ चौका र १ छक्का सहित ७३ रन जोडे । ओपनर फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि १६.४ ओभरमा ८० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । धनन्जय डी शिल्भाले बोल्ड आउट गर्नु अघि वार्नरले ४८ बलमा २ चौका सहित २६ रन बटुले । २३ ओभरको अन्तिम बलमा शिल्भालेनै उस्मान खवाजालाई इसरु उडनाबाट १० रनमा क्याच आउट गराए ।
तल्लोक्रममा ग्लेन म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै २५ बलमा ५ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे । तल्लोक्रममा शन मार्श ३,एलेक्स करी ४,प्याट कमिन्स डक आउट भए । मिचेल स्टार्क ५ रनमा नट आउट रहे । श्रीलंकाका लागि धनन्जय डी शिल्भा र इसुरु उडानाले समान २ विकेट लिए । लाथिस मलिङ्गाको नाममा १ विकेट रह्यो ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६