चाडपर्वबाहेक नेपाली फिल्म अरु समयमा शुक्रबारमात्र रिलिज गर्नुपर्ने नियम छ । यो नियम विदेशी फिल्मका लागि पनि लागू हुने भन्दै चलचित्र विकास बोर्डले भारतमा बुधबार प्रदर्शनमा आएको फिल्म कलंक लाई सोही दिन नेपाल रिलिज गर्न रोक्यो । फिल्म शुक्रबार रिलिज भयो ।
तर, वितरक कम्पनी ब्याङ्कटेस इन्टरटेन्मेन्टका मनोज राठीले काठमाडौं जिल्ला अदालतमा विदेशी फिल्म शुक्रबारमात्र रिलिज गर्नुपर्ने बोर्डको निर्णय विरुद्ध रिट दायर गरे । अदालतले पनि उनको पक्षमा फैसला सुनाउँदै स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न बोर्डलाई सचेत गरायो । साथै, भारत बुधबार नै नेपाल रिलिज गर्न दिन आदेश थियो । अदालतको आदेशसँगै विदेशी फिल्म नेपालमा जुनसुकै दिन प्रदर्शनका लागि खुल्ला भयो । अदालतको ‘स्टे अर्डर’ पछि भारत बुधबार नै नेपाल रिलिज भयो । यो फिल्म नेपाल रिलिजका लागि बाटो खोलिदिएपछि बोर्डले काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरण पठायो ।
बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौं जिल्ला अदालतले भारत का लागि दिएको ‘स्टे अर्डर’ खारेज गरेको छ । अदालतले उक्त निर्णय खारेज गरेसँगै सोही प्रकृतीका मुद्धाहरु अब अदालतमा नजाने विकास बोर्डले जनाएको छ ।
भारत बुधबार प्रदर्शनका लागि वितरक राठीले एक पक्षिय तरिकाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेका थिए र अदालतले त्यसको पूर्ण कारवाहीलाई थाती राख्दै ‘स्टे अर्डर’ दिएको थियो ।
विकास बोर्डको स्पष्टिकरणपछि अदालतले उक्त मुद्धालाई पूर्ण रुपमा कारवाही गर्दै अन्तरिम आदेश खारेज गरेको हो । अदालतले ‘स्टे अर्डर’ बदर गरेसँगै अब सबै भाषाका फिल्म शुक्रबारमात्र रिलिज हुने बोर्ड अध्यक्ष केशव भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६