नेपाल पर्यटन बोर्डको आयोजना एवं ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)गण्डकी प्रदेशको सह आयोजनामा पोखरामा शुक्रबारदेखि ग्रामीण पर्यटन मार्ट शुुरु भएका छ ।
गाउँ पर्यटनको प्रवद्र्धन गर्दै पर्यटन बजारमा प्रभावकारी पहुँच अभिवृद्धि गर्ने लक्ष्यका साथ आयोजित मार्टमा हिमाल पारीको मुस्ताङदेखि तराईको जिल्ला नवलपुरसम्मको घरवासको सहभागिता रहेको छ ।
मुस्ताङको ठिनी सामूदायिक घरवासदेखि नवलपुरको दराई सामूदायिक घरवाससहित विभिन्न २०० भन्दा बढी घरवास व्यवस्थापकको सहभागिता रहेको दुईदिने सो मार्टमा विभिन्न ३५ घरवासले आफ्ना प्रचार सामग्रीसहित प्रदर्शनी कक्षसमेत राखेका छन् ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सो मार्टको उद्घाटन गर्नुभएको थियो । गण्डकी प्रदेशमा हालसम्म २७३ घरवास सञ्चालनमा आएका बताइएको छ ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)का केन्द्रीय अध्यक्ष ध्रुव सिंखडाले घरवासको प्रभावकारी विकास गर्न सके ग्रामीण भेगका सर्वसाधारणका लागि आय आर्जनको महत्वपूर्ण आधार बन्ने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटकीय गाउँ र ठाउँलाई होमस्टेका माध्यमबाट आयआर्जनमा जोड्दै पर्यटकको बसाइ लम्ब्याउने खालको वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रराज पौडेलले गण्डकी प्रदेशमा होमस्टे प्रतिको आकर्षण बढ्दै गएकाले दिगो र संस्थागत विकास प्राथमिकतामा रहेको बताए।
प्रदेशसभा सदस्य राजीव पहारी, रामबहादुर गुरुङ लगायतले होमस्टेको प्रवद्र्धनमा मार्ट बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्दै होमस्टे व्यवस्थापनमा सबै पक्षको सहयोग आवश्यक रहेकामा जोड दिए ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६