कोपा अमेरिका फुटबलमा घरेलु टोली ब्राजिलले विजयी सुरुवात गरेको छ । आज बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० गोलले पराजित गरेको हो ।
ब्राजिलको जितमा २ गोल फिलिप काउन्टिन्होले गरेका थिए भने एक गोल इभर्टन सुसाले थपे ।
खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । ब्राजिलका आक्रमणमा खेल्ने खेलाडीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा भने ब्राजिलले सुरुवाती समयदेखि थप आक्रमण गर्दै अग्रता लिन सफल भएको थियो ।
ब्राजिलका लागि फिलिपे कोउटिन्होले ५० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । बोलिभियाका डिफेन्डरले ह्यान्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा निर्णय लिएका थिए । पेनाल्टीमा गोल गरेको तीन मिनेटपछि नै कोउटिन्होले अग्रता दोब्बर पारे ।
८५ औं मिनेटमा इभर्टन सुसाले फिरमिन्होको पासमा गोल गर्दै ब्राजिललाई ३–० को अवस्थामा पुर्याए ।
यस जितसँगै ब्राजिलले पहिलो खेलमा नै ३ अंक जोड्न सफल रहेको छ । ब्राजिलको समूहमा बोलिभियासँगै पेरु र भेनेजुएला रहेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६