छिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ । राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुपै्र नेपाली विदेशी जेलमा परेका छन् भने केहीको मृत्युसमेत भएको छ । तर, अवैध बाटो हुँदै विदेश पु¥याएर ठगीमा परेका, लुटिएका र मृत्यु भएकाको यकिन तथ्यांक सरकारसँग छैन । कसरी विदेशी भूमिमा नेपाली नागरिक ठगिएका छन् ? कुन बाटो हुँदै कसरी लगिन्छ ? भन्ने विषयमा नवराज मैनालीको रिपोर्ट :
अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो । भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट सडकमार्ग हुँदै उनलाई अमेरिका लगिएको हो ।
ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै उनलाई अमेरिका लगिएको थियो । मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे । जेलबाट छुटेपछि नेपाल ‘डिपोर्ट’ गरिएको थियो । नेपाल फर्किएपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । उनलाई त्यसरी अमेरिका पठाउने गिरोहका सदस्य जिसीलाई ब्युरोले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ । जिसीले हाल मृत्यु भइसकेका एक प्रदेश सभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन् । गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो समूहले त्यसरी महिनौँसम्म लगाएर विभिन्न देश हुँदै युवाहरूलाई अमेरिका पठाउने गरेको थियो । केही वर्षयता अमेरिकी सीमामा कडाइ गरेपछि त्यहाँ धेरैजना पक्राउ परेका थिए ।
१५ युवकलाई लिबिया पु-याएर बन्धक
वैदेशिक रोजगारीका लागि इटाली लैजाने भन्दै लिबिया पु-याएर १५ युवालाई अलपत्र बनाउने गिरोहका दुईजना पनि पक्राउ परेका छन् । मावन बेचबिखन नियन्त्रण ब्युरोले राहुल गहतराज, तीर्थबहादुर विश्वकर्माजस्ता उपनाम भएका राहुल थापा र कमल भन्ने लोकमान राईलाई प्रहरीले पक्राउ गरेको हो । सो समूहले प्रतिव्यक्ति पाँचदेखि सात लाख रुपैयाँ असुलेर उनीहरूलाई नयाँदिल्ली, दुबई हुँदै ट्युनिसियाबाट सिरिया पठाइएको थियो । त्यहाँबाट लिबिया पु-याएपछि उनीहरूको पासपोर्ट तथा नगदसमेत खोसिएको थियो । पछि त्यहाँ खटिएको नेपाली शान्ति सैनिक र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा उद्धार गरिएको थियो ।
पक्राउ परेकामध्ये लोकमान विगतमा पनि मानव तस्करी मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २४ पुस ०७४ मा पक्राउ गरेको थियो । टर्कीमा मानव तस्करी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । अदालतबाट १० लाख रुपैयाँ धरौटीमा छुटेपछि उनले यही धन्दालाई निरन्तरता दिएका थिए । ‘भिजिट भिसामा विमानस्थलबाट मानव तस्करी गर्ने गिरोहका उनी नाइके भएको बुझिएको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने ।
मानव तस्करीमा संलग्न गिरोहले काजकस्तान लैजाने भन्दै नेपालीहरूलाई झुक्याएर इरानको सहर कुर्दिस्तान पु-याएरसमेत अलपत्र बनाएका थिए । तीन युवकलाई त्यसरी कुर्दिस्तान पु-याइएको छ । त्यसमा संलग्न अमरबहादुर बगाले र मेनुका श्रेष्ठलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले पक्राउ गरी कारबाही अघि बढाएको छ । आकर्षक जागिरको प्रलोभनमा लाखौँ असुलेर उनीहरूलाई कुर्दिस्तान पु-याइएको हो । इराक, लिबिया, सिरियाजस्ता द्वन्द्वग्रस्त देशहरूमा समेत मानव तस्करी बढेको प्रहरीले जनाएको छ ।
क्यानडा पठाउने भन्दै दिल्ली लगेर मिर्गाैला निकाल्ने प्रयास
क्यानडा लैजाने भन्दै मानव तस्करीमा संलग्न एक गिरोहले एक युवक र उनका बुबा तथा मामालाई दिल्लीमा पु-याएर उनीहरूको पैसा लुटी मिर्गाैलासमेत निकाल्ने प्रयास गरेको छ । चार महिनापछि प्रहरीले सो गिरोहका एक सदस्यलाई पक्राउ गरेको छ । नाम गोप्य राखिएका ती युवालाई गत ५ फेबु्रअरीमा भारतको नयाँदिल्ली लगिएको थियो । दिल्लीको होटेलमा राखेपछि क्यानडा जान २२ हजार अमेरिकी डलर देखाएपछि तुरुन्त क्यानडाको ‘इलेक्ट्रोनिन्स ट्राभल अथोराइजेसन’ ल्याउन सकिने भनेर ब्ल्याकमेल गरियो । भिसा आइसकेको भनेर उनलाई भ्रममा पारेर पैसा मगाउन लगाइएको थियो ।
आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६