काठमाडौं: सरकारले निर्माणमा उच्च प्राथमिकता दिएको राष्ट्रिय गौरवका आयोजनामै लक्ष्यको आधा पनि काम नभएको पाइएको छ । राष्ट्रिय गौरवका सडक सञ्जालअन्तर्गतका विभिन्न आयोजनामा लक्ष्यअनुसार प्रगति भएको छैन भने कतिपय ठाउँमा गुणस्तरीय काम नभएको भन्दै विरोधसमेत हुँदै आएको छ ।
निर्माण कम्पनीले ढिलासुस्ती गर्दा लक्ष्यअनुसार काम हुन नसकेको हो । सरकारले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न गर्न र गुणस्तरीय विकासका लागि समन्वय, सहयोग, अनुगमन तथा मूल्यांकन गर्न पनि कम चासो देखाएको छ । आयोजनामा उत्पन्न हुने विभिन्न किसिमका विवाद हल गर्न सरकारले तत्परता नदेखाउँदा पनि कतिपय आयोजनाको प्रगति लक्ष्यअनुसार हुन नसकेको हो ।
पुष्पलाल (मध्य पहाडी) लोकमार्गको काम लक्ष्यअनुसार नभएर आधा मात्र भएको छ । वार्षिक भौतिक लक्ष्यअनुसार १ सय ७ किलोमिटर कालोपत्रे गर्नुपर्नेमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ३५ किमि मात्र कालोपत्रे भएको छ । आयोजनाको १ सय ८० किमि सडक ग्राबेल गर्नुपर्नेमा १५० गरिएको छ भने १५ वटा पुल निर्माण गर्नुपर्नेमा आधासमेत निर्माण सम्पन्न भएको छैन । आयोजनामा कतिपय ठाउँमा काम अलपत्र अवस्थामा छाडिएको छ भने कतिपय पुल ठेक्कामा दिए पनि निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको भेटिएको छ । चालू आर्थिक वर्षका लागि लोकमार्गलाई ७ अर्ब ५० करोड ३० लाख विनियोजन गरिएको थियो । त्यसमा वार्षिक खर्च ४ अर्ब ८५ करोड ८१ लाख ७४ हजार भएको छ ।
हुलाकी राजमार्गको कामको प्रगति पनि लक्ष्यअनुसार नभएर करिब आधाकै हाराहारीमा छ । चैतसम्म ८ अर्ब १० करोड २७ लाख विनियोजन गरिएको बजेटमा ५ अर्ब १८ करोड ८८ लाख खर्च गरिएको छ भने काम आधा आधी मात्र भएको छ ।
लोकमार्गको १ सय २८ किमि सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकामा ८० प्रतिशत मात्र कालोपत्रे भएको छ । २ सय ४८ किमि ग्राबेल गर्नुपर्नेमा १ सय ७५ किमि सडक ग्राबेल गरिएको छ । यस्तै, लोकमार्गको १५ वटा पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा तीनवटा पुलको मात्र निर्माण कार्य सम्पन्न भएको छ ।
सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि निर्माणाधीन मध्यपहाडी पुष्पलाल राजमार्गको कालोपत्रे गर्न १२ अर्ब २० करोड र तराईका जिल्लाहरू जोड्ने हुलाकी राजमार्गको कालोपत्रे गर्न १३ अर्ब ६३ करोड विनियोजन गरेको छ ।
उत्तर–दक्षिण लोकमार्ग (कर्णाली– कालीगण्डकी–कोसी) मा पनि सन्तोषजनक काम भएको छैन । हिल्सा सिमीकोट सडक ट्र्याक निर्माण १० किमिकोे लक्ष्य रहेकोमा ६.५ किमि काम भएको छ । कोसी कोरिडोरको २३ किमि ट्र्याक खोल्नुपर्नेमा ६.५ किमिको काम भएको छ । खण्डास्मित स्तरोन्नति १० किमि हुनुपर्नेमा १ किमिको मात्र काम भएको छ ।
कालीगण्डकी कोरिडोरमा १२ किमि ट्र्याक खोल्नुपर्नेमा ९ किमि, खण्डास्मित स्तरोन्नति ३४ किमिको काम गर्नुपर्ने लक्ष्यमा १९ किमि र १२ वटा पुल निर्माण हुनुपर्नेमा दुई वटा मात्र निर्माण सम्पन्न भएको छ ।काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ५४ किलोमिटरमा कटिङ र फिलिङ स्ट्रक्चरको काम भइरहेको छ ।दोस्रो चौमासिकमा २८ लाख क्युब मिटर माटो काटिएको छ । हालसम्म १ सय १५ लाख क्युब मिटर माटो काट्ने काम भएको निर्माण आयोजनाले जनाएको छ । आजकाे राजधानीमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६