एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा ओपनर जो रुटले सानदार शतक प्रहार गरेपछि घरेलु टोली इंग्ल्यान्डले सानदार जित निकालेको छ ।
शुक्रबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले तेस्रो जित निकालेको हो । २ सय १३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३.१ ओभरमा २ विकेट क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डका लागि रुटले ९४ बलमा ११ चौका सहित १ सय रनमा अविजित रहे ।
रुटले ३३ ओभरको चौथो बलमा ओशन थोमसलाई १ रन बटुल्दै ९३ बलमा शतक प्रहार पुरा गरेका थिए । यो रुटको वान डे करियरको १६ औं शतक हो ।
दोस्रो विकेट क्रिस वोक्स र जो रुटले १ सय ४ रनको शतकीय साझेदारी सहज जित पक्का गरेका थिए ।
त्यस अघि ओपनर जो रुट र जोनी बेयरस्टो पहिलो विकेटका लागि १४.४ ओभरमा ९५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । क्याच आउट हुनुअघि बेयरस्टोले ४६ बलमा ७ चौका सहित ४५ रन जोडे । ओपनर जोसन रोय चोटका कारण ओपनिङ जोडीमा मैदाउन उत्रेका थिएनन् ।
वेस्ट इन्डिजका लागि शैनन गेब्रियलले २ विकेट लिए । त्यसि अघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४४.४ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटिएको थियो । उसका लागि मध्यक्रमका युवा खेलाडी निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान दिए । जोफ्रा आर्चरले ४० ओभरको पाँचौ बलमा विकेटकीपर जस बटलरबाट क्याच आउट गराउनुअघि पुरनले ७८ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
तेस्रो ओभरको अन्तिम बलमा क्रिस वोक्सले ओपनर इभिन लुईसलाई २ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका रुपमा आउट हुनु अघि अर्का ओपनर क्रिस गेलले ४१ बलमा ५ चौका र १ छक्का सहित ३६ रनको योगदान दिए । गेललाई १३ ओभरको अन्तिम बलमा लियाम प्लन्केटले जोनी बेयरस्टोबाट क्याच गराएका थिए । लगत्तै दुईबल पछि विकेटकीपर शाई होपलाई मार्क उडले ११ रनमा एलवी डब्लू आउट गर्दै इंग्ल्यान्डले वेस्ट इन्डिजलाई दबाबमा राख्न सफल भएको थियो । चौथोे विकेटका लागि निकोलस पुरन र शिमरोन हिटमायरले ८९ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ उकासेका थिए ।
३० ओभरको पाँचौ बलमा बिरलै बलिङमा उत्रने जो रुटले हिटमायरलाई ३९ रनमा आफैं क्याच लिँदै यी दुईबीचको साझेदारी तोडेपछि इंग्ल्यान्ड पुन खेलमा फर्किएको थियो । हिटमायरले ४८ बलमा ४ चौका प्रहार गरे ।
निकै आसा र ठूलो भरोसा गरिएका आन्द्रे रसेललाई मार्क उडले ३७ ओभरको दोस्रो बलमा २१ रनमा क्याच आउट गराएपछि वेस्ट इन्डिजको ठूलो योगफलको संभावना लगभग सकिएको थियो । रसेलले १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । कार्लोस बर्थवेट १४ रनमा आउट भए । पुछारका तीन ब्याट्सम्यान ओशन थोमस,शिल्डन कर्टेल र शैनन ग्रब्रियलले खाता खोल्न सकेनन् ।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले ९ ओभरमा १ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए । त्यस्तै मार्क उडले पनि ६.४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । जो रुटले २,लियाम प्लन्केट र क्रिस वोक्सको नाममा १-१ विकेट रह्यो ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६