जिल्लाको लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई १ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका बैठकले अनुमोदनसमेत गरिसकेको लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताए ।
“पशुपालन शीर्षकको रकम अनुदानको रुपमा बाँड्दा धेरै कमजोरी देखिए”, अध्यक्ष नेपालले भने, “त्यसैले अनुदान दिने व्यवस्था बन्द गरी सहुलियत ब्याजदरमा ऋण लगानी गर्ने योजना बनाएका हौँ ।” अनुदान बाँड्दा पहुँचवाला किसानले मात्रै पाएको र वास्तविक किसान छुटेको भन्दै गाउँपालिकाले यस्तो नीति ल्याएको हो ।
पालिकाले छुट्टै कोष स्थापना गरी ऋण लगानी गर्न लागेको हो । त्यसको लागि पहिलो चरणमा यस आर्थिक वर्ष पशुपालनतर्फ रु १५ लाख बजेट छुट्टाइएको छ । कोष सञ्चालनको लागि दुईवटा समिति निर्माण गर्ने पालिकाले जनाएको छ । ऋण वितरणको लागि अनुदान कार्यान्वायन तथा सिफारिस समिति गठन गर्ने र त्यसको नेतृत्व कुनै एक वडा अध्यक्षले गर्नेछन् । पशुपालन गरिरहेका वा गर्न चाहेका किसानले प्रस्ताव पत्रसहित सो समितिमा आवेदन दिनुपर्नेछ ।
प्रस्तावना पत्र र उसको व्यक्तिगत लगावको अध्ययन गरेपछि सिफारिस समितिले ऋण दिने वा नदिने विषयमा निर्णय गर्नेछ । ऋण वितरण र सुरक्षणको अनुगमन गर्नको लागि गाउँपालिका प्रमुखको अध्यक्षतामा एक अनुगमन समिति गठन गरिने र सो समितिले ऋण लगानी गरिएका किसानको अनुगमन गर्नेजस्ता प्रावधान बनाएर किसानलाई ऋण दिन लागिएको हो ।
यसरी वितरण भएको ऋण फिर्ता गर्ने समयसीमा भने सिफारिस समिति ऋणी बीचको आपसी समझदारीमा निर्धारण गरिने उल्लेख गरिएको छ । “प्रस्तावका आधारमा पशुपालन गर्न खोजे विधि, उत्पादनको समयावधिलाई हेरेर किस्ता निर्धारण गरिनेछ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण दुलालले भने, “त्यसको समयावधि बढीमा पाँच वर्षको हुनेछ ।”
उनका अनुसार किसानले गर्न चाहेको पशुपालनको लागि आवश्यक सीप तथा तालीमका लागिसमेत गाउँपालिकाले सहयोग गर्नेछ । सो कोषमा गाउँपालिकाले हरेक वर्ष रकम थप्दै जाने छ । त्यस्तै ऋणबाट प्राप्त ब्याज तथा अन्य विलम्ब शुल्कलगायतका रकमसमेत कोषमा थप्दै जाने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६