दाङ: दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् । दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा मौसम अनुसारका फलफूल तथा जङ्गली फल काफल बेच्नेको ताति नै लाग्ने गरेको छ । दाङका विभिन्न बजारमा काफल बेचेर उनीहरुले दैनिक रु चार हजारसम्म आम्दानी गर्ने गरेका छन् । सल्यान कपुरकोटबाट ल्याएका काफल बेचेर मात्रै दैनिक रु चार हजारसम्म आम्दानी गर्ने गरेको तुलसीपुर बजारमा काफल बेच्दै आउनुभएकी धनसरी घर्तीले बताइन । दिनमा रु चार हजारसम्म कमाइ हुन्छ , उनले भनिन, कहिलेकहीँ त त्यो भन्दा बढी पनि हुन्छ । दिनभरि काफल टिपेर भोलिपल्ट बिहानै तुलसीपुर बजारमा काफल बेच्ने गरेको तुलसरा विकले बताइन । बुढा कामको सिलसिलामा काभ्रे पलाञ्चोक बस्छिन, यहाँ मैले काफल बेचेर घरखर्च चलाउँछु , उनले भनिन, बुढाको कमाई सबै बचत गरेको छु ।
त्यस्तै बिहानै कपुरकोटबाट तुलसीपुरमा काफल बेच्न आउने गरेकि शिवा पुनले पनि काफल हुने मौसममा राम्रो आम्दानी गर्ने गरेको बताइन । एक महीनामा १५ दिन काफल टिप्न जाने र १५ दिन काफल बेच्ने गरेको उनको भनाइ छ । अहिले बजारमा एक मानोको रु ३० मा बेच्ने गरिएको उनले बताइन । पोहोरसाल रु २५ मा बेच्ने गरेका थियौ , उनले भने, अहिले रु ३० मा हामीले काफल बेच्ने गरेका छौँ । त्यस्तै तुलसीपुरकी तारा नेपालीले पनि काफलबाटै घरपरिवार पाल्दै आएकी छिन । अरुले टिपेको काफललाई खरीद गरेर बेच्दै आउने गरेकि छन ।
उनले आफैँ टिप्न नसक्ने भएकाले अरुले ल्याएको काफल खरीद गरेर बेच्ने गरेको बताइन । आफैले टिपेर ल्याएर अलि बढी आम्दानी त गर्न सकिन्छ, तर अरुले ल्याएको काफललाई खरीद गरेर बिक्री गर्दा पनि राम्रै हुन्छ , उनले भनिन, त्यसो गर्दा पनि दैनिक रु ५०० सम्म आम्दानी हुने गरेको छ । यो समयमा महिलाले काफल बेचेरै आफ्नो दैनिकी चलाउने गरेका छन् । अहिले दाङका बजारमा काफल बेच्ने महिला धेरै छन् । तुलसीपुर बजारमा कपुरकोटबाट, घोराहीलगायत आसपासका बजारमा रोल्पाबाट तथा लमही, भालुबाङ बजारमा प्यूठानबाट काफल आउने गरेको छ । गर्मी समयमा बजारमा काफलको माग अत्यधिक हुने गरेको छ । अन्य समयमा अरु नै पेशा गर्ने गरेको भए पनि महिलाले काफल पाक्ने मौसममा भने काफलकै व्यवसाय गर्ने गरेको बताउँछन् ।-रासस
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६