काठमाण्डाैं: तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का पाएकाे विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधीन पुल निर्माणमा गम्भीर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले त्यस पुलको स्थलगत निरीक्षणसमेत गरेको थियो । त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै पुलको निर्माण कार्यअघि बढाउनु भनेकोमा त्यस कम्पनीले त्यसविपरीत काम अघि बढाएकाले कारबाही गर्न सिफारिस गरेको हो ।
दिएको निर्देशनसमेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुशी गर्ने त्यस कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ ।
समितिले त्यस पुलको पुन: डिजाइन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ । सडक विस्तार आयोजनाले तत्काल इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माण अघि बढाउने व्यवस्था मिलाउनुपर्ने समितिको निष्कर्ष छ ।
यही पद्धतिबाट निर्माण भइरहेको अन्य सडक तथा पुलहरुमा उत्पन्न हुन सक्ने समस्याको तत्काल समाधानका लागि उचित व्यवस्था गर्न आवश्यक रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६