गल्फ अफ ओमानमा भएको एउटा शंकास्पद हमलामा दुईवटा ट्यांकरमा क्षति पुगेपछि त्यस क्षेत्रमा तनाव चुलिएको छ । विश्वकै व्यस्त तेल निर्यातमार्गमध्येको एउटा मार्ग नजिकै रहेका तेल ट्यांकरमाथि हमला भएको हो ।
दुईमध्ये एक ट्यांकरका सञ्चालकले विस्फोटनपछि आगलागी भएको बताएका छन् । गत मेमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि प्रतिबन्ध लगाएपछि यस क्षेत्रमा तनाव चुलिएको छ ।
अमेरिकीहरूले ती क्षेत्रमा इरानी हमलाको सम्भावना रहेको भन्दै आफ्नो सेनाको उपस्थिति बलियो बनाएको छ । अमेरिकायले पछिल्लो हमलामा पनि इरानको संलग्नता रहेको आरोप लगाएको छ । तर इरानले सो आरोप खण्डन गरेको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यो आक्रमणमा इरानको हात रहेको आरोप लगाएका थिए । इरानका एक वरिष्ट अधिकारीले बिनाआधार इरानमाथि आरोप लगाइएको भन्दै यसका पछि इरानको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६