काठमाडौंः पर्यटन व्यवयासी आङछिरिङ शेर्पा सम्मानित भएका छन् । फ्रेन्डसिप युथ क्लब सल्लेरी सोलुखुम्बूले शेर्पालाई प्रथम फ्रेन्डसिप युथ अवार्ड २०७५ को ‘उत्कृष्ट व्यवसायी’ अवार्डबाट सम्मान गरेको हो ।
शेर्पालाई सोलुखुम्बूका सांसद हेमकुमार राई ‘सुरवीर’ र फ्रेन्डसिप युथ क्लब सोलुखुम्बूका अध्यक्ष महेश किरातीले संयुक्त रुपमा ताम्रपत्र र अवार्ड प्रदान गरी सम्मान गरेका हुन् । शेर्पा लामो समयदेखि पर्यटन व्यवसायीको रुपमा स्थापित सफल व्यवसायी हुन् । उनी खुम्बू पासाङल्हामु गाउँपालिका ४ खुम्जुङका स्थायी बासिन्दा हुन् ।
सम्मान वितरण समारोहमा बोल्दै प्रतिनिधिसभाका सांसद हेमकुमार राई ‘सुरवीर’ले सरकारको पर्यटन वर्ष २०२० को आलोचनात्मक टिप्पणी गरेका छन् । सत्तारुढ दलको सांसद भए पनि राईले खुलेर सरकारको आलोचनात्मक टिप्पणी गरेका हुन् ।
‘सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेको लामो समय बितिसकेको छ, अब आउने वर्ष पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, तर यस्तै भौतिक संरचना र नीतिले २० लाख पर्यटक भित्र्याउन हामीले सक्छौं कि सक्दैनौं भन्ने आम पर्यटन व्यवसायी र सरोकारवाला निकायमा शंका छ’, सांसद राईले भने, ‘सुन्छु प्रदेश १ मा पर्यटन वर्ष २०२० का लागि समिति गठन भयो अरे, सोलुखुम्बू जिल्लाको न उद्योग वाणिज्य महासंघ परेको छ, न प्रदेश र संघीय जनप्रतिनिधि नै ? पर्यटन वर्ष झापा र मोरङलाई मात्र लागेको हो ?’
फ्रेन्डसिप युथ क्लबका अध्यक्ष महेश किरातीले संस्थाको उद्देश्य अनुसार सोलुखुम्बूमा काम गरिरहेको बताए । ‘अरु धेरै गैरसरकारी संस्थाहरु नाफामुखी भइरहेका छन् । तर, हामी नाफामुखी हुनु छैन’, अध्यक्ष किरातीले भने, ‘पर्यटन वर्ष २०२० का लागि हामी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई हरदम सघाउन तयार छौं ।’
सम्मानित व्यक्ति तथा सफल पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले फ्रेन्डसिप युथ क्लबले २०७५ सालकै उत्कृष्ट व्यवसायीको सम्मानपत्र र अवार्ड दिँदा नेपालको पर्यटन क्षेत्रमा थप केहि सकारात्मक काम गरेर देखाउनुपर्ने दायित्व बढेको बताए । ‘यो सम्मानपत्र र अवार्डको भारी मैले बोक्न सक्छु कि सक्दिनँ, त्यो कुराले मलाई बारम्बार पिरोलिरहेको छ’, शेर्पाले भने, ‘झनै पर्यटन क्षेत्रमा थप नयाँ आयाम ल्याउनका लागि मलाई हौसलाको साथै चुनौती थपिएको मैले महसुस गरेको छु । म नेपालको पर्यटन क्षेत्रमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
फ्रेन्डसिप युथ क्लब लुक्ला शाखाका अध्यक्ष नाम्गेल शेर्पाले लुक्लास्थित फ्रेन्डसिप युथ क्लब शाखाले निर्माण गरेको खेलकुद मैदानमा फुटबल र भलिबल सिकेर अहिले स्थानीय, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म खेलाडी पुगेको स्मरण गरे ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६