काठमाडौं: नेपाली कांग्रेसले भदौ २४ गतेदेखि शुरु हुने जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै संविधान र पार्टीको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचना बनाउने भएको छ ।
उक्त अभियानबारे जानकारी दिन बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले उक्त जानकारी दिएका हुन्।
कांग्रेसको संघीय संरचनाअनुसार संशोधित विधानमा तल्लो तहमा पनि कार्यसम्पादन समितिलगायत अन्य समिति बनाउनुपर्नेछ । उक्त अभियानका क्रममा कार्यकर्ताले तल्लो तहको अधिवेशन छिटो गर्नुपर्ने सुझाव दिएका थिए । काँग्रेसले विधानअनुसार केन्द्रीय विभागहरु पनि गठन गरेको छैन ।
पहिलो चरणअन्तर्गत ‘एकमहिने हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सम्पन्न गरेको कांग्रेसले उक्त चरणमा आम कार्यकर्ताले विधानअनुसार पार्टी संरचना नबनाइएकाले नेतृत्वको चर्को आलोचना गरेका थिए ।
कांग्रेसको विधानमा टोल, गाउँ/नगर वडा, गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका र महानगरपालिका, प्रदेश क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय र प्रदेश कार्यसमिति हुनुपर्ने उल्लेख छ ।
प्रथम चरणको एक महिनामा जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरीय कार्यक्रम, भेला र गरी २ हजारभन्दा बढी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पार्टीका शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी सहभागी भएका थिए ।
यस्तै विदेशस्थित जनसम्पर्क समितिमार्फत पनि अभियानका उद्देश्यहरु सम्प्रेषण भएको प्रवक्ता शर्माको भनाइ थियो ।
उनले सरकारको अधिनायकवाद–उन्मुख गतिविधिले बढाएको तीव्र असन्तुष्टि जागरणमार्फत देशव्यापी रुपमा प्रकट भएको दावी गरे । प्रवक्ता शर्माले प्रथम अभियानम्ँ देशभरिबाट ३१ हजार ६ सय ४२ मानिस कांग्रेसमा प्रवेश गरेको जानकारी दिए । आजकाे नेपाल समाचार पत्रमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६