काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरविन कब्जा गरेको छ। सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा ‘प्वाइन्ट’ (बिन्दु) मध्ये खोटाङ लौरेडाँडामा पुगेका सरकारी अधिकारीबाट खोसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर (दुरविन) कब्जामा लिएका हुन्।
जेठ ७ गते लौरेडाँडा पुगेका सरकारी अधिकारीहरुबाट विप्लवका कार्यकर्ताले दुरविन लुटेको भन्ने खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा खोटाङ र सोलुखुम्बुबाट सुरक्षाकर्मी खटाएको थियो। सगरमाथाको उचाइ नाप्न गएको टोलीका सदस्यले भने यो घटनालाई गुपचुप राखेका छन्। ‘मन्त्रालयमा त्यसको जानकारी भइसकेको छ तर बाहिर ल्याउन आवश्यक ठानिएन,’ भूमि तथा व्यवस्था मन्त्रालयका एक उपसचिवले भने, ‘त्यहाँ हाम्रा साथीलाई थ्रेट भयो भनेर प्रदेश प्रहरीलाई भन्यौं।’
सुरक्षा थ्रेट भएको जानकारी पाएपछि प्रदेश १ प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय खोटाङलाई लौरेडाँडासहित अन्य बिन्दु आसपास गस्ती बढाउन निर्देशन दिएको थियो। तर खोटाङ प्रहरीलाई विप्लवका कार्यकर्ताले दुरविन कब्जा लिएको विषयमा जानकारी दिइएको थिएन। अहिले पनि मन्त्रालय र उच्च सुरक्षा निकायले यो घटनालाई गोप्य राख्न चाहेका छन्। ‘यो पनि राज्यको सम्पत्ति हो। हामी पनि यही राज्यका नागरिक हौं। राजनीतिक परिवर्तनका लागि युद्ध लडेका छौं भन्दै उनीहरुले दुरविन कब्जामा लिएका थिए’, लौरेडाँडाका एक स्थानीयले भने । आजकाे नागरिकमा समाचार छ ।
भोजपुरको सिलिचोमा पनि विप्लवका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको टोलीलाई अवरोध गरेका थिए। तर त्यहाँबाट भने उनीहरूले सरकारी अधिकारीको साथमा रहेका प्राविधिक सामान लुटेनन्। खोटाङको ऐंसेलुखर्क र मायुङमा पनि विप्लव कार्यकर्ताले सरकारी टोलीलाई अवरोध गरेका थिए। त्यस्तै १२ वट प्वाइन्टमध्ये सोलुको माथिल्लो राउजी र तल्लो राउजी, पताले डाँडा, केम्ज्यो डाँडा, बुकुर डाँडा, छुल्यामु, पिके डाँडामा भने विप्लव कार्यकर्ताले सरकारी टोलीलाई कुनै अवरोध गरेनन्।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६