काठमाडौं : नेपालका प्रधानमन्त्री, मन्त्री तथा उच्च ओहदाका अधिकारीहरू चढ्ने गाडी कस्ता हुन्छन्, कति महंगा हुन्छन्, यो कुरा त आमनेपालीलाई थाहा भएकै विषय हो । किनकि धेरै सवारीसाधन खरिदका विषय ‘भाइरल समाचार’ बन्ने गरेका छन् ।
करोडौँ मूल्य पर्ने गाडीमा सयर गर्नेहरूको सुरक्षा व्यवस्था पनि कडा हुने नै भयो । कहीँकतै जानुपर्यो भने भीआईपीहरु प्रहरीको सुरक्षा घेरा अर्थात् स्कर्टिङमा हिँड्ने गर्छन् । तर सुरक्षाका लागि ‘स्कर्टिङ’ गर्ने तिनै गाडी भने प्रदूषण मापन गर्ने हो भने सडकमा गुडाउन उपयुक्त नहुने खालका छन् ।
सरसफाइसँग सम्बन्धित मन्त्री नै धुवाँको मुस्लोको स्कर्टिङमा यात्रा गर्न बाध्य छन् नेपालमा । यसो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर गत सोमबार काठमाडौंबाट धादिङको ज्वालामुखीमा लिफ्टिङ खानेपानीको उद्घाटन गर्न गएकी खानेपानी तथा सरसफाइमन्त्री बिना मगरको यात्रा धुवाँको मुस्लोभित्रै भएको थियो ।
मन्त्रीको यात्रा हुँदा हरेक क्षेत्रबाट स्कर्टिङ गर्ने व्यवस्था हुन्छ । खानेपानीमन्त्री काठमाडौंबाट धादिङतर्फ लागिन् । उनको सुरक्षाका लागि स्कर्टिङमा खटिएका गाडी धेरै पटक परिवर्तन भए । धादिङको गजुरीदेखि धादिङबेँसीसम्म भने खानेपानीमन्त्रीको यात्रा धुवाँको मुस्लोभित्रै भएको थियो ।
गजुरीबाट स्कर्टिङमा रहेका गाडीले अघिअघि धुवाँको मुस्लो फाल्दै थिए भने मन्त्रीको गाडी त्यही मुस्लोभित्रै अगाडि बढिरहेको थियो । त्यति मात्र नभएर स्कर्टिङ गर्ने गाडी नै उकालो चढ्न नसकेपछि मन्त्रीको गाडीसहित पछाडिका सबै गाडी रोकेर पर्खिनुपर्यो । अनि मन्त्रीको गाडीलगत्तै पछाडि रहेको गाडीमा बसेका फन्ड बोर्डका सदस्य सञ्जिव यादव चकित हुँदै भने, ‘खानेपानी तथा सरसफाइ मन्त्रीकै यात्रा यस्तो धुवाँभित्र हुन्छ भने कसरी वातावरण संरक्षण हुन्छ ? यस्ता पुलिसको गाडीले त वातावरणमा प्रदूषण मात्र बढाउँछ ।’
ट्राफिक प्रहरी महाशाखाका अनुसार नेपालमा प्रदूषण मापन गर्ने साधन नहुँदा समस्या भएकाले सरकारी गाडी तथा प्रहरीकै गाडी पनि ‘प्रदूषण फेल’ भएर पनि गुडिरहेकै छन् । ट्राफिक प्रहरीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार नेपालमा हालसम्म एउटा डिजलवाला गाडी परीक्षण गर्ने र एउटा पेट्रोलवाला गाडी परीक्षण गर्ने गरी दुइटा मात्र मेसिन छन् ।
यसैगरी ट्राफिक प्रहरीसँग प्रदूषण मापन गर्ने तालिमप्राप्त जनशक्ति पनि छैन । यातायात विभागसँग मात्र मेसिन र प्राविधिक रहेको सहायक प्रवक्ता बिष्टले बताए । उनले भने, ‘प्रदूषण मापन प्रभावकारी बनाउन ट्राफिकलाई जिम्मा दिनुपर्छ भने जनशक्ति उत्पादनका लागि ट्राफिकलाई नै तालिम दिनुपर्छ ।’
उनका अनुसार काठमाडौंमा मात्र कम्तीमा १० वटा मेसिन आवश्यक भए पनि अहिले एउटा मात्र छ । त्यसमा पनि यातायात विभागको जिम्मामा रहेकाले प्रभावकारी हुन सकेको छैन भने मापनको प्रक्रिया पनि निरन्तर चल्न नसकेको सहायक प्रवक्ता बिष्टले बताए ।
यातायात विभागको जिम्मा रहेका दुइटा मेसिन चैतयता मात्र निरन्तर सञ्चालनमा रहेको भए पनि दैनिक रुपमा मापन गर्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । सहायक प्रवक्ता बिष्टका अनुसार कर्मचारीको फुर्सद नहुने र थोरै साधनका कारण समस्या भएको हो ।
काठमाडौंमा मात्र १२ लाखभन्दा बढी सवारीसाधन हुँदा चालु आर्थिक वर्षमा दुई हजार चार सय ७९ गाडीको मात्र प्रदूषण मापन गरिएको छ । मापन गरिएकामध्ये एक हजार तीन सय ६५ गाडी प्रदूषण फेल पाइएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६