काठमाडाैं : भारतको गुजरातमा ‘वायु’ चक्रवात आउन थालेपछि नेपालमा पनि त्यसकाे असर देखिन सक्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालकाे पश्चिममी भागमा पश्चिमी वायु र भारतीय चक्रवातको सामान्य असर गर्ने महाशाखाले जानकारी दिएकाे छ । महाशाखाकी माैसमिवद् गंगा नगरकोटीका अनुसार चक्रवात तथा पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्रको असरले बिहीबार मध्यान्हपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना छ ।
‘वायु चक्रवातको असर आंशिक रुपमा पर्ने सम्भावना देखिएको छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘वायु चक्रवात नै नेपालमा भित्रिन्छ भन्ने होइन तर यसको असरले शुक्रबार दिउँसो पानी पर्न सक्छ ।’
पश्चिम बंगाल र बंगलादेश आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि देखिएको र शुक्रबार तराईमा हावाहुरी र पश्चिमी उच्च हिमाली भेगमा हिमपात पनि हुने सम्भावना रहेको विभागले जनाएकाे छ ।
अहिले भारतको गुजरातको पोरबन्दर र जामनगरमा वर्षा र तीवै गतिको हावाहुरी चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
वायुको सम्भावित असरलाई लिएर सतर्कता अपनाइएको बीबीसीले उल्लेख गरेको छ । भारतीय मौसम विभागले यो चक्रवातलाई गम्भीर श्रेणीको भएको बताएको छ ।
अहिले त्यो आँधी पोरबन्दर नजिकै आइपुगेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्।
सो क्षेत्रमा रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको छ भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको छ। विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६