काठमाडौँ : त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ । उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्ममा उनीहरूले अस्वाभाविक चलखेल गरेका हुन् ।
सेवा आयोगका पदाधिकारीहरूले प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका कोडिङ, परीक्षण र नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगका पदाधिकारीलाई संलग्न गराएनन् । त्रिवि सेवा आयोगमा लोकसेवा आयोगका सदस्य पदेन सदस्य रहने व्यवस्था छ । हाल ब्रह्मदेव राय प्रतिनिधिका रूपमा छन् । उनलाई नै ‘बाइपास’ गरी परीक्षा सञ्चालन गरेको भेटिएको हो ।
उत्तरपुस्तिकामा तीन पटकसम्म केरमेट गरिएका छन् । ‘पहिले ३२ नम्बर दिएको विद्यार्थीको उत्तरपुस्तिका रि–चेकिङका नाममा ४० नम्बर दिइएको छ,’ स्रोतले भन्यो, ‘फेरि केरमेट गरेर ५५/६० नम्बर दिइएको छ । १० वटाभन्दा बढी उत्तरपुस्तिकामा यस्तै समस्या छ ।’ उत्तरपुस्तिका परीक्षणका क्रममा हुने सम्परीक्षणमा सामान्य फेरबदल हुने भए पनि परीक्षकले दिएकै अंक केरमेट र फेरबदल गर्नु गम्भीर त्रुटि भएको हो । ‘यसरी काटेर नम्बर बढाइएका उत्तरपुस्तिका वाहक नै पछि उत्तीर्ण भएका छन्,’ सेवा आयोग स्रोतले भन्यो, ‘उत्तरपुस्तिका परीक्षणका क्रममा आधारभूत गोप्यताको सिद्धान्त पनि पालना भएको छैन ।’
जानकारहरूका अनुसार सुरुमा उत्तरपुस्तिका परीक्षणका क्रममा सरसर्ती जे उत्तर छ, त्यसका आधारमा अंक दिइएको थियो । पछि सम्परीक्षणका नाममा आफूअनुकूलका विद्यार्थी पास हुने ढंगले अंक थपियो । ‘त्यतिले समेत नपुगेर जति दिएपछि मात्र पास हुने देखिन्छ, त्यति अंक हुने गरी परिवर्तन गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘उत्तरपुस्तिकामा भएका विषयवस्तुकै आधारमा मूल्यांकन हुने हो भने पनि केरमेट भएका उत्तरपुस्तिकामा अंक अस्वाभाविक रूपमा बढाइएको छ ।’
छानबिनमा परेका टेकनाथ ढकालले आफूले उत्तरपुस्तिका परीक्षण गरेको स्विकार्दै अख्तियारमा समेत बयान दिएर आएको प्रतिक्रिया दिए । ‘उत्तरपुस्तिकामा गोप्य नम्बर कोडिङ गरिएको हुन्छ । कसको के नम्बर भन्ने थाहा हुँदैन । सम्परीक्षणका क्रममा केही अंक फेरबदल हुन्छ । प्राप्तांक फेरबदल भए सच्याएर सही गरिएको हुन्छ ।’ उनका अनुसार हरेक परीक्षकले उत्तरपुस्तिकाका विषयवस्तुलाई आ–आफ्नै ढंगले मूल्यांकन गर्ने भएकाले दिने अंक केही तलमाथि हुन सक्छ । तर सेवा आयोगको परीक्षामा पटकपटक केरेर झन्डै दोब्बर नम्बर थपिएको छ ।
जनप्रशासन विभागका प्रमुख ढकालले ३२ काटेर ४० अंक दिनु व्यावहारिक हिसाबमा सम्भव नहुने बताए । तर केही उत्तरपुस्तिकामा त्यस्तै छ । ‘त्यस्तो हुँदैहुँदैन,’ उनले भने, ‘अख्तियारले हामीलाई सामान्य सोधपुछ गरेको हो, अरू त्यस्तो केही होइन । सम्परीक्षणमा अरू पनि सहभागी छन् ।’ उनले आफू सेवा आयोगका पदाधिकारीको सम्पर्कमा नरहेको भन्दै विश्वविद्यालयकोअन्य राजनीति आफूलाई थाहा नहुने प्रतिक्रिया दिए ।
तर परीक्षाकै समयमा ढकालले त्रिवि आयोगका पदाधिकारीसँग आचारसंहिता उल्लंघन हुने गरी अस्वाभाविक क्रियाकलाप गर्दै आएको स्रोतको दाबी छ । आफू कोही पदाधिकारीहरूसँग चिनजान र नजिकको नभएको भन्दै उनले जनप्रशासनको क्षेत्रमा काम गरेकाले आफूलाई जिम्मेवारी दिइएको बताए । सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले आफू सञ्चारमाध्यमप्रति जवाफदेही हुन जरुरी नभएको बताए । ‘तपाईँले जे मन लागेको छ, लेखिसक्नुभएको छ नि, मसँग गर्नुपर्ने कुरा के छ र ?’
उत्तरपुस्तिका परीक्षणक्रममा बारम्बार केरमेट र फेरबदलमाथि जिज्ञासा राखेपछि उनले भने, ‘अख्तियारले बयान लिनु/नलिनुसँग तपाईंलाई के सरोकार ? मैले तपाईंलाई जवाफ दिनुपर्ने हो र ? तपाईंले आफूलाई जे मन लाग्छ, लेख्नुस् ।’ शर्माकी भतिजी पार्वती सापकोटा पनि परीक्षामा उत्तीर्ण भएकी थिइन् । कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६