धनगढी : धनगढी उपमहानगरपालिका–१२, जुगेडाकी कल्पना नेपाली दुईमहिने शिशु बोकेर दिनभर रुखको छहारीमा ओत लाग्छिन्। राति भने छिमेकीको आँगनमा आश्रय लिन्छिन्। अघिल्लो बिहीबारको हुरीले घर भत्काएपछि उनी बेसहारा भएकी छिन्।
कल्पनाका पति रोजगारीका लागि भारत गएका छन्। हुरी आउनुभन्दा दुई दिनअघि पति भारत गएका थिए। हुरी आउँदा कल्पना नाबालक छोराछोरीसहित घरमा थिइन्। हुरीले घर भत्काउन थालेपछि ज्यान जोगाउन उनी छोराछोरीसहित छिमेकीको घर पुगिन्। ‘वर्षासहितको हावाहुरीले सबै उडायो,’ उनले भनिन्, ‘भएको अन्नपात पनि भिज्यो।’ हुरीले वितण्डा मच्याएको दिनदेखि उनको परिवारले राम्ररी खान पाएको छैन।
‘त्यो दिनदेखि आँखामा न निद्रा छ न त पेट भरिएको छ,’ उनले भनिन्, ‘छिमेकीको आँगनमा नाबालक छोराछोरीसहित सुत्छु।’ हुरीले भत्काएको घरअघि बुधबार काखे शिशुसहित बसेकी उनले भनिन्, ‘भोक मेटाउन दुई नाबालक छोराछोरी खानाको खोजीमा गाउँतिर गएका छन्।’
स्थानीय धनादेवी ढोलीको पीडा पनि कल्पनाको जस्तै छ। हुरीले उनको पनि घर भत्काइदिएको छ। मजदुरी गर्न भारत गएका उनका पति उतै छन्। घर हुरीले उडाइदिएपछि उनी दुई छोराछोरी र आठ महिने शिशुसहित खुला आकाशमुनि रात काट्न बाध्य छिन्। हुरीले घर भत्काएको सात दिन हुँदा पनि कसैले त्रिपालसम्म नदिएको उनको गुनासो छ। ‘हावाहुरी आएको एक साता बितिसक्यो, अहिलेसम्म कसैले केही दिएको छैन,’ उनले भनिन्, ‘बच्चाको पेट भर्नसमेत मुस्किल परिरहेको छ।’
कल्पना र धनादेवी हुरीपीडित प्रतिनिधि पात्र मात्रै हुन्। हुरीले जुगेडाका दुई सय परिवार घरबारविहीन बनेका छन्। वडाध्यक्ष गणेशप्रसाद जोशीले जुगेडामा मात्रै दुई सय घर भत्केको बताए। उनले भने, ‘पीडितलाई राहत उपलब्ध गराउन नगरपालिका समक्ष सिफारिस गरिएको छ।’
विद्यार्थी स्कुल जान पाएनन्
हुरीले घरबारविहीन परिवारका बालबालिका स्कुल जान पाएका छैनन्। शारदा माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत नाइसा नेपाली र कक्षा १ मा पढ्ने उनका भाइ समिर घर भत्केका कारण अहिलेसम्म स्कुल जान नसकेको बताउँछन्। ‘हावाहुरीले कापी किताबसमेत उडाइदियो,’ नाइसाले भनिन्, ‘घर भत्केको र कापी किताब नभएकाले भाइ र म स्कुल जान सकेका छैनौं।’ कक्षा ३ मा अध्ययनरत पार्वती नेपालीले पनि हुरीले कापीकिताबसँगै स्कुल पोसाकसमेत उडाइदिएको बताइन्। ‘न कापीकिताब छन् न स्कुल ड्रेस नै छ, यस्तोमा कसरी स्कुल जान सकिन्छ र खै,’ उनले भनिन्, ‘घरमा खाने अन्न छैन, भएको सबै भिज्यो।’
‘संघीय सरकारले कैलाली–कञ्चनपुरका हुरीपीडितको पक्षमा कुनै चासो देखाएन। हिजो त सुदूरपश्चिम उपेक्षामा थियो नै आज गणतान्त्रिक सरकार हुँदा पनि काठमाडौंलाई यहाँका जनताको पीडाले छोएन।’
विद्युत् अझै अनिश्चित
हुरीपछि अवरुद्ध विद्युत् सेवा सात दिन बितिसक्दा पनि नियमित हुन सकेको छैन। प्रदेश राजधानी रहेको धनगढी उपमहानगरसहित ग्रामीण बस्ती अझै अन्धकार छन्। बढ्दो गर्मीमा विद्युत् नियमिति नहुँदा जनजीवन कष्टकर बनेको छ। ‘विद्युत् नहुँदा दैनिक क्रियाकलाप प्रभावित हुन थालेको छ,’ उपमहानगरकी मनिषा विकले भनिन्, ‘दिनभरको उखरमाउलो गर्मी र रातमा लामखट्टेको टोकाइले बिरामी हुन थालिएको छ।’ हुरीले घर उडाएका मात्र नभई अन्य पनि गर्मीका कारण प्रभावित भएका छन्। ‘विद्युत् छैन, घरभित्र राति सुत्नै सकिँदैन,’ धनगढीकै राजेन्द्र चौधरीले भने।
नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका अनुसार कैलाली–कञ्चनपुरमा हावाहुरीका कारण बिजुलीका १५ सय पोलमा क्षति पुगेको छ भने २० वटा ट्रान्सफर्मर बिग्रिएका छन्। क्षेत्रीय प्रमुख सतिशकुमार कर्णका अनुसार धनगढीका केही ठाउँमा अझै विद्युत् नियमित हुनसकेको छैन। ‘दैनिक काम भइरहेको छ,’ उनले भने। विद्युत सेवा पुरानै अवस्थामा ल्याउन अझै एक साता लाग्ने उनले बताए। हुरीले धनगढी, अत्तरिया, कञ्चनपुरको कृष्णपुर र गुलरिया क्षेत्रका पोलमा बढी क्षति पु-याएको उनले बताए। नागरिकमा खबर छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६