सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा लोकदोहोरी गीत ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ ।
यही जेठ ११ गते म्युजिक भिडियो सार्वजनिक भएको थियो । गलबन्दीमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ । शब्द, सङ्गीत र भिडियो निर्देशन पनि सपुतकै छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । सो गीतको छायाङ्कन सपुतकै जन्मघर बागलुङ धम्जामा गरिएको थियो ।
सपुतले अघिल्लो वर्ष निर्माण गरेको लोकगीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङ नं एकमा आएको थियो । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’ को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए । बोलमायामा पनि स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ थियो । उक्त गीतको भिडियोमा पनि सपुत र अञ्जली अधिकारीको अभिनय छ ।
कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट संवाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । सपुत चञ्चले युवक र अधिकारी लजालु युवतीका रुपमा म्युजिक भिडियोमा देखा पर्छन् ।
गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसाबले पनि सपुत सफल देखिएका छन् । भाका नेपाल प्रालिद्वारा निर्मित गीतको भिडियोमा सपुतका आमाबुबा, भाइ र आफन्तजनको अभिनय देख्न पाइन्छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६