काठमाडौं : पछिल्लो समय नेपाली बजारमा दिनानुदिन सुनको मूल्य बढ्दै गएको छ । सुनको मूल्य बढेसँगै सुनको कारोबार गर्ने तथा घरायसी प्रयोजनका लागि खरिद गर्ने उपभोक्ताहरू पनि मारमा परेका छन् ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरेसँगै झन् सुनको मूल्य बढेको देखिन्छ । पछिल्ला केही दिनमा सुनको मूल्य ह्वात्तै बढेको हो तर नेपालमा एक्कासि सुनको मूल्य किन बढ्यो भन्ने कौतूहलको विषय बनेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेको अवस्थामा नेपालमा भने दैनिक २/३ सय रुपैयाँ बढिरहेको छ । सरकारले जेठ १५ गते बजेट प्रस्तुत गरेयता नेपालमा सुनको मूल्य २८ सय रुपैयाँ बढेको हो ।
बुधबार छापावाल सुनको मूल्य तोलाको ६२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य भने ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी भने तोलाको ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य गत १४ दिन अगाडिको भन्दा २८ सयले बढी हो ।
किन बढ्यो सुनको मूल्य ?
नेपालमा ठूला सुन व्यवसायीहरूले सुनको प्रत्यक्ष रूपमा हस्तक्षेप गर्ने गरेका कारण पनि नेपालमा सुनको मूल्य अस्थिर भएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य त्यति नबढे पनि नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले भने अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि मूल्यवृद्धि भएको बताएका छन् ।
अध्यक्ष विश्वकर्माले नेपाल सरकारमार्फत् भन्सार कार्यालयबाट सुन आयात हुने भएकाले सुनको मूल्य बढाउने र घटाउने काम उनीहरूकै हुने गरेको बताए । अध्यक्ष विश्वकर्माले अमेरिका र चीनको बजारमा सेकेण्डभरमा सुनको मूल्यमा बदलाव आउने भएका कारण पनि नेपाली बजारमा त्यसको प्रभाव परेको बताए ।
बैंकहरूले भने आफूले अन्तर्राष्ट्रिय बजारबाट खरिद गरेको मूल्यमा झण्डै ०.०५ प्रतिशत नाफा राखेर व्यवसायीहरूलाई बिक्री गर्ने गर्छन् । नेपाली मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमय दर भएका कारण भारु बलियो हुँदा नेपाली मुद्रासमेत बलियो हुने गरेको छ ।
तर नेपालमा भने यसको प्रभाव उल्टो देखिएको छ । नेपाली बजारमा प्रत्येक दिन सुनको औसत मूल्य दुई-तीन सयको हाराहारीमा बढिरहेको छ । नेपालमा हाल कारोबार भएको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको मूल्यभन्दा निकै बढी हो ।
वाणिज्य बैंकहरूले अन्तर्राष्ट्रिय बजार मूल्य र डलरमा आएको उतारचढावकै आधारमा सुन आयात गरेका हुन्छन् । वाणिज्य बैंकहरूले खरिद गरेको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकला उद्योग महासंघ, नेपाल सुनचाँदी कला व्यवसायी संघलगायतका संघहरूमार्फत् आमव्यवसायीहरूमा पुग्ने गर्छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६