ओखलढुंगा– मेलमिलाप परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाले समाजमा मेलमिलाप बिनाको न्याय अधुरो हुने बताएका छन् ।
उनले मेलमिलापलाई न्याय सम्पादनमा सँगसँगै नलगे न्यायिक पद्धति नै संकटमा पर्ने बताए । खतिवडाले अदातलका फैसलाहरुले मात्रै कतिपय अवस्थाका व्यवहारमा न्याय नपर्ने हुने भएकाले संसारभरका न्यायकर्मी यस्तो निचोडमा पुगेको पनि जनाए, ‘संसारभरका विज्ञहरु यहि निचोडमा पुगेका छन, हामी पनि त्यही ठाउँमा छौं ।’ कानुन र व्यवहार सबै ठाउँमा मेल नखाने भएकाले न्यायमा मेलमिलाप पद्धतिको विकास भएको उनको भनाइ छ ।
परिषद्ले विहीबार ओखलढुंगामा आयोजना गरेको मेलमिलाप सम्बन्धी गोष्ठिमा सरोकारवालाहरुलाई सम्बोधन गर्दै अध्यक्ष खतिवडाले कानुन हेरेर गरिने निर्णयले न्याय पाओस् भन्दाभन्दै पनि नपाउने अवस्था आएकाले सबै वर्गको न्यायमा पहुँच स्थापित गर्न मेलमिलापको नीति अवलम्बन गरिनु पर्नेमा जोड दिए । मेलमिलाप न्याय सम्पादनको सामाजिक पद्धति भएकाले यसको प्रयोगबाट न्याय दिन सहज हुने खतिबडाले बताए ।
स्थानीय तहका प्रमुख, उपप्रमुख र न्यायिक समितिका सदस्य तथा मेलमिलापकर्ताहरुलाई लक्षित गर्दै मेलमिलाप गर भनेर मात्रै पक्षहरु सहमत नहुने भएकाले यसका फाइदाका बारेमा बुझाउन सक्षम व्यक्ति मात्रै मध्यस्थकर्ता हुन सक्ने स्पष्ट पारे । जथाभावी मेलमिलापकर्ता चयन गर्ने र मध्यस्थता गराउने गुनासा आएकाले परिषद्को पाठ्यक्रमलाई मात्रै त्यस्ता तालिममा प्रयोग गर्न सचेत गराए ।
कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधीहरुले कानुनी अस्पष्टताका कारण मेलमिलापकर्ता छनौटमा समस्या आएको, दक्ष प्रशिक्षक नपाउँदा मेलमिलापलाई प्रभावकारी बनाउन समस्या रहेको गुनासा गरेका थिए ।
सहभागीहरुको जिज्ञासा समाधान गर्ने क्रममा खतिवडाले मेलमिलाप न्याय दिन सरल विधी भएकाले यसका पद्धतिको अवलम्बन गरेर कार्यन्वयन गर्न स्थानीय तहलाई आग्रह गरे ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६