पत्रकार राज्यको चौथो अंग हो त भनिएको छ तर कुनै काम नलाग्ने अंग जस्तै लाग्न थालेको छ । पछिल्लो समय पत्रकारिताप्रति घटेको विश्वास र बढेको शंका हो अथवा आफैँले खनेको खाडलका कारण समस्या आएको हो ? सांसददेखि सडकसम्म पत्रकार हुँ भन्न नमिल्ने भएको छ । पेसा पत्रकारिता हो भने काठमाडौंमा भाडासमेत पाउन मुस्किल भएको छ ।
पत्रकारिता सबैभन्दा खुसीको पेसा हो भनेर एक दशकअघि नै सुनेँ । पत्रकार भएर बाँच्न सक्छु भन्ने सोच बनाएर कलम लिएर हिँडेको हो । काठमाडौंमा बसेर पत्रकारिता गर्ने मोफसलका सबैजसोको रहर हुन्छ । त्यही रहर पूरा गर्न म पनि काठमाडौं छिरेँ । मेरो व्यक्तिगत समस्या र रहरले काठमाडौं आएँ ।
पहिलो पटक काठमाडौं बस्ने अठोट लिएको मैले धेरै चुनौतीहरूको सामना गरेँ । गन्तव्यमा पुगेर गन्तव्यकै सोधीखोजीदेखि लिएर सूचना माग गर्न जाँदा कार्यालय नै प्रवेश नपाएकासम्मको चुनौती सामना गरेँ यसबीचमा ।
समाचार संकलन र सूचनाको स्रोतबाट पाएको ठक्करभन्दा पेसाले निम्त्याएको पछिल्लो अविश्वास तथा अमानवीय कार्यबाट म आजित हुन थालेको छु । काठमाडौं आए पनि न त आफ्नो घर छ, न आफन्तको घर । त्यसैले कोठा चाहिन्छ नै । आफन्तका कोठामा नबसेको र बास नदिएको होइन तर कति दिन आफन्तको कोठामा बस्नु ? दिनभर काम र पेसाको चिन्ता भए पनि राती निद्रा त लाग्छ नै । त्यही थकान मेटाउने एउटा सानो कोठा खोज्दासमेत काठमाडौंका विभिन्न स्थानमा पाइसकेको कोठा फुत्किएको छ ।
वैशाखको अन्तिम हप्ता भीमसेनगोला मार्गमा एउटा कोठा खाली भएको थाहा पाएँ । कोठाका लागि सबै तयारी गरेँ । कोठा दिने निर्णयका साथ गएको मात्र थिएँ, पत्रकार भएकै कारण कोठा नराख्ने घरधनीको निर्णय सुनेर बाहिरिनुपर्यो । घरको धनीले गरेको निर्णय मैले स्वीकार गरेर जानुपर्यो । यदि म अन्य पेसामा रहेको भए त्यही कोठामा आज आराम गरिरहेको हुन्थेँ । त्यही भेट्न सकिने केन्द्र हुन्थ्यो तर त्यो मेरो कोठा हुनसकेन ।
त्यसपछि पनि कोठा खोज्ने क्रम चलिरह्यो र चलिरहेको छ । शुक्रबार मात्र पनि थापागाउँमा एउटा कोठा खाली छ भनेर सूचना पाएँ । आइतबारबाट कोठा लिने टेलिफोन कुराकानीको आधारमा आइतबार कोठा हेर्न मात्र गएको थिएँ, पेसाकै कारण त्यो कोठामा पनि म बस्न लायक हुन सकिनँ ।
काठमाडौंका लागि म मेरो नागरिकतामा भएको एक नागरिक होइन, किनकि पहिलो प्रश्न घर कहाँ ? दोस्रो प्रश्न के काम गर्छाै ? यस्तै प्रश्न तेर्सिन्छ कोठा खोज्दा । दोस्रो प्रश्नको उत्तरले नै कोठा बस्न नालायक बनाइदिन्छ ।
यस विषयमा चिया गफदेखि कफी गफसम्ममा कारण खोजी गरियो । कोठा नदिनेसँग पनि छिमेकी र साथीमार्फत् कारण बुझ्ने कोसिस गरियो । कारणहरू कुनै मिडिया हाउसले बनाइदिएका हुन् भने कुनै आफैँले निर्माण गरिएका हुन् । मिडिया हाउसले निर्माण गरिदिएको एउटा कारण छ, त्यो हो–समयमा तलब नआएपछि कोठा भाडा तिर्न नसक्ने । कोठा भाडा नतिरेपछि पटक पटक मागिरहनुपर्ने र धेरै पटक माग्न थाले पत्रकार कारण भएर आइदिन्छ । धेरै माग्न थाले घरभेटीकै समाचार बन्ने भएकाले पत्रकारलाई काठमाडौंमा कोठा पाउन मुस्किल भएको हो ।
पत्रकार कोठामा बस्न लायक नभएका धेरै कारणहरू छन् । समयमा कोठामा नआएर राती सुतिसकेपछि घरको गेट खोल्नुपर्ने, पत्रकार हुँ भनेर राजनीति गर्ने अनि कतिबेला काँचुली फेरेझैँ कुन रूप लिने हो, घरभेटीलाई नै थाहा नहुनेसम्मका कारणहरू भेटिएका छन् ।
एकातिर कोठा नपाउने समस्या छ भने अर्काेतिर आफ्नो फोटो खिचेर आफैँले समाचार लेख्ने समय आएको छ । एकातिर मिडिया काउन्सिल विधेयकले सदनबाट पेलिरहेको छ भने अर्काेतिर सडकबाट पनि पेलिरहेको हुँदा पत्रकारिता पेसा सबैभन्दा खुसीको पेसा भन्ने कि नभन्ने, अन्योलमा छु ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६