कैलाली:एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले बस्तीहरुमा ठूलो धनजनको क्षति पु¥यायो । हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भएका छन् ।
क्षतिको एकिन विवरण सङ्कलन भइरहेका बेला बुधबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ५५ वर्षीया दानी ओडले कच्ची घरको माथि त्रिपाल मिलाइदिइरहेका नेपाली सेनाको टोलीलाई सामान दिएर सहयोग गरिरहेको अवस्था भेटियो । हावाहुरीले घरको छाना उडाएर उठिबास लाग्यो । हावाहुरीबाट घाइते भएकी श्रीमतीलाई देखाउँदै ओडले भने, परिवारका अन्य सबै सदस्यहरुले खाटमुनि लुकेर ज्यान जोगाए । कञ्चनपुरका हावाहुरीले सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा क्षति पु¥याएको तथ्याङ्क छ ।
हावाहुरीले पूर्णरुपमा क्षति पु¥याएपछि त्यहाँका पीडितहरु अहिले पनि छिमेकी र खुल्ला आकाशमुनी रात बिताउन बाध्य भइरहेका छन् । राहतको नाममा यही एउटा त्रिपाल वडा कार्यालयबाट मिलेको छ , ओडले भने, घरभित्रको अन्न भिजेर काम नलाग्ने भएपछि किनेर खादैछौँ । उनले हावाहुरीपछि सेना बस्तीमा आउँदा गाउँलेहरुलाई निकै राहत पुगेको बताए ।
सेना आएर अवरुद्ध सडक खुलाउनेदेखि घरका छानाहरु बनाइदिने काममा अहोरात्र खटिएको छ , उनले भने, सेनाकै सहयोगले घरको त्रिपालको छानो बनेर मुश्किलले सास फेर्न पाएको छु । पूर्ण रुपमा क्षति पुगेका स्थानीयवासीलाई गाँसबासको समस्या बल्झिँदै गएको उहाँको भनाइ छ । खुल्ला आकाशमुनि सुत्दा बालबालिकाहरु लामखुट्टेको टोकाइले बिरामी पर्न थालिसके , उनले भने, सिंहदरबार अझै गाउँमा आएको भन्नु बेकार रहेछ । त्यसैगरी कृष्णपुर नगरपाकिला– ६ कै ३८ वर्षीय तिलक भट्ट दम्पतीसहित घरमा सहयोग गरिरहेको सेनाको टोलीसित काममा व्यस्त छन् ।
घरको छाना उडाएर राति खाटमुनी पसेर चार जनाको परिवार बाच्यिौ, भट्टले भने, अहिले सेना आएर छाना बनाउन सहयोग गर्दैछ । उनले सेनाले उद्दार लगायतका काममा सहयोग गरेको सुनेपनि गाउँमै आएर घरका छाना बनाउनेदेखि अहिले दिएको हरेक समस्या समाधानमा खटिएको देख्दा गाउँले हर्षित भएको बताए । स्थानीय तहबाट त्रिपाल दिएको भए पनि अन्य राहत अहिलेसम्म केही आएको छैन , उनले भने, खरीद गरेर ल्याएको ३० किलोग्राम चामलले परिवारको भोक टार्दैछु । हावाहुरीले वडा नं. ६ मा मात्रै ५० को हाराहारीमा बिजुलीका पोलहरु भाचिँएका छन् । भने रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएको स्थानीयको भनाइ छ । धन्न सेना आएर गाउँमा सडक खुलाएपछि आवतजावत गर्न सहज भएको छ , स्थानीय रगि नगारीले भने, क्षतिको विवरण सङ्कलनबाहेक राज्यबाट अरु केही सहयोग पाएको छैन ।
स्थानीयवासी गङ्गाराम भट्टले स्कूलको छाना भत्किदा विद्यालय बन्द हुनुका साथै खानेपानी र बिजुलीको समस्याले बासिन्दा आक्रान्त बनेको बताए । जस्तापाता भएका घरहरु प्रायः सबैमा क्षति पुगेको छ , उनले भने, सेनाबाहेक अन्य सरकारी निकायबाट केही सहयोग भएन । त्यसैगरी मौरीफाँटाकै १८ वर्षीया मनिषा बोहरा हावाहुरीपछि छिमेकीको घरमा घाइते दिदी टिकेश्वरी बोहरासित आश्रय लिदैछिन् ।
उनका बुवा प्रेम बोहरा र आमा देवसरादेवी बोहरा हावाहुरीले छानो भत्किदा घाइते भएका थिए । आमाको कोहलपुरमा उपचार हुँदैछ , उनले भनिन, त्रिपालसमेत नपाउँदा घरमा बस्न सकिएको छैन । भत्किएका छाना÷टहरा पुनःनिर्माण गर्न नेपाली सेनाको सिंहसाशूल गुल्मको टोली कृष्णपुर नगरपालिकामा खटिएको छ । गुल्मबाट उपसेनानी चेतन छत्कुलीको नेतृत्वमा खटिएको सैनिक टोली विगत तीन दिनदेखि गाउँमा खटिएको छ । हावाहुरीपछि जिल्लामा बसेको सुरक्षा समितिको निर्णयानुसार सेनाले प्रभावित क्षेत्रमा सहयोगका लागि खटिएको बताइएको छ । -रासस
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६