काठमाडाैं : लागुऔषध कारोबारी नियन्त्रणमा लिन पोखरामा प्रहरीले गोली चलाएको छ। पोखरा महानगरपालिका–१० को उत्तम चोकमा गोली हानेर प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।
‘डिके’ भनिने गोविन्द थापालाई गोली हानी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए। थापाको बायाँ खुट्टामा गोली लागेको छ। उनको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।
पोखराको उत्तमचोकमा रहेको एक क्याफे प्रहरीले उनीहरूलाई लागुऔषध लिएर हिँडेको विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो।प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेका थिए। प्रहरीमाथि नै जाइलागेपछि बाध्य भएर प्रहरीले गोली चलाएको एसपी कार्कीले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट १५ सय थान लागुऔषध बरामद गरेको जनाएको छ। पक्राउ परेका थापाले यसअघि लागु औषध ओसार पसार गरेको मुद्दामा कतारमा सन २११४ देखि १८ सम्म कारावासको सजाय भाेगेका थिए । साथै उनलाई २०७५ कर्तव्य ज्यान मार्ने मुद्दा लागेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६