चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ । गाउँपालिकाको रु\ दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरीद गरेर जडान गरिएको हो ।
गाउँपालिकामा जडान गरिएको चट्याङप्रतिरोधी उपकरणले ८०० मिटर टाढा खसेको चट्याङलाई आफूतर्फ तानेर जमीनभित्र निस्क्रिय(डिसपोज) गर्ने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । चट्याङले यस क्षेत्रमा वर्षेनी मानिस तथा पशुचौपायामा ठूलो क्षति गर्दै आएको छ , उनले भने, आगामी दिनमा चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न चट्याङप्रतिरोधी उपकरण जडान गरिएको हो ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिका चट्याङको अति प्रभावित क्षेत्र भएकाले अन्य स्थानमा पनि क्रमशः थप उपकरण जडान गर्ने योजना रहेको जनाइएको छ । यसअघि चट्याङ लागेर बाक्सिलाबजारमा सञ्चालन भएको नवौँ संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिता हेरिरहेका एक दर्शकको घटनास्थलमै मृत्यु भएको थियो ।
भौगालिकरूपमा दुर्गम क्षेत्र मानिने पूर्वीपहाडी जिल्ला खोटाङ चट्याङको अतिप्रभावित जिल्लामा पर्दछ । चट्याङले जिल्लामा सञ्चालित दुई रेडियो (रुपाकोट सामुदायिक रेडियो र हलेसी सामुदायिक रेडियो)मा वर्षेनी लाखौँको क्षति पुर्याउने गरेको रेडियो सञ्चालकले बताउँदै आएका छन् ।
चट्याङकै कारण उपकरणमा ठूलो क्षति पुगेपछि अहिले रुपाकोट सामुदायिक रेडियो बन्द रहेको छ । ऋण काढेर जडान गरिएको उपकरणमा चट्याङले वर्षेनी क्षति पुर्याएपछि रेडियो सञ्चालक हैरानीमा पर्दै आएका छन् ।
चट्याङले निरन्तर क्षति पुसर्याएपछि यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेका स्थानीयवासीले भने आफ्नै लगानीमा उपकरण खरीद गरेर प्रत्येक घरमा अर्थिङ गरेका छन् । आफू बस्ने घरमा कम्तीमा अर्थिङ मात्र गरेपनि चट्याङको जोखिम कम हुने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६