काठमाडौं : विद्युतीय अपराध अर्थात् साइबर क्राइम अहिले चुनौतीको विषय बनेको छ । पछिल्ला चार वर्षमा सामाजिक सञ्जालमा १३१ वटा विद्युतीय अपराधका घटना भएको प्रहरीको तथ्यांकले देखाउँछ ।
महानगरीय अपराध महाशाखाको तथ्यांकअनुसार सामाजिक सञ्जाल फेसबुकमार्फत् सबैभन्दा धेरै अपराधका घटना भएका छन् ।
आर्थिक वर्ष २०७२/०७३ मा सामाजिक सञ्जाल फेसबुकमार्फत् भएका अपराध १७ वटा, २०७३/०७४ मा २२ वटा, २०७४/०७५ मा ५० वटा र २०७५/०७६ को वैशाखसम्म नौ महिनामा ४२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । यस तथ्यांकले फेसबुकमार्फत् अपराधका घटना बढ्दै गएको देखाउँछ ।
त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा ह्याकिङका अपराध चारवटा, २०७३/०७४ मा एउटा, २०७४/०७५ मा दुईवटा र २०७५/०७६ को वैशाखसम्ममा आठवटा उजुरी दर्ता भएका छन् ।
सामाजिक सञ्जालबाट पछिल्लो चार वर्षमा पाँच हजार ७९ जना पीडित भएका छन् । आर्थिक वर्ष २०७२/०७३ मा सामाजिक सञ्जाल फेसबुकबाट पीडित ८३० जना, २०७३/०७४ मा एक हजार १९७ जना छन् । त्यस्तै, २०७४/०७५ मा एक हजार ४८२ र २०७५/०७६ को वैशाखसम्म नौ महिनामा एक हजार ५७० जना पीडित भएको महाशाखाले जनाएको छ ।
सूचना प्रविधिको विकाससँगै यसका प्रयोगकर्ताको संख्या बढ्दो छ । कानुनको अनभिज्ञताका कारण पनि यस्ता घटना बढिरहेका छन् ।
कतिपयले आपराधिक मनशाय राखेर डिजिटल सुविधाको दुरूपयोग गरी कसैको बदनाम गर्ने तथा आर्थिक उपार्जन गर्नका लागि यसको प्रयोग गरेको देखिन्छ । ‘३० वर्षमुुनिका युवायुवती सुरुवातमा लिभिङ टुगेदर बस्ने र पछि सम्बन्ध बिग्रिएपछि लिभिङ टुगेदरको समयमा भएका क्रियाकलापको फोटो र भिडियो देखाएर चरित्र हत्या गरिदिन्छु भन्दै ब्ल्याकमेल गर्ने गरेका देखिन्छ’, महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकाल भन्छन्, ‘अधिकांश घटना सम्बन्ध बिग्रिएपछि नै भएको देखिन्छ ।’
साइबर क्राइमको सजायबारे जनसाधारणलाई जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ । सामाजिक सञ्जालबाट कसैले अपराध गरेमा विद्युतीय कारोबार ऐनअनुसार अधिकतम् पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६