धादिङ: खानेपानीमन्त्री बिना मगरले धादिङ पुगेर धाराको पानी पिएर खानेपानी आयोजनाको उद्घाटन गरेकी छन् । उनले ज्वालामुखी गाउँपालिका ७ मा निर्माण सम्पन्न चैनपुर खानेपानीको सोमबार उद्घाटन गरेकी हुन् ।
उनले त्यहाँ पानीको महान नहुँदा स्थानीय महिलाले पानी ओसार्दा पाएको दुःखको प्रसंग उठाउदै पानी ओसार्दा भएको दुःख र समयको सदुपयोग गर्न सुझाव दिइन् । साथै शिक्षा, स्वास्थ्य र खानेपानी सबै नागरिकको मौलिक अधिकार भए पनि नेपालको भौगोलिक कठिनाइका कारण अधिकारबाट वञ्चित रहेको बताउँदै अवको तीनवर्षभित्र सबै नेपाली नागरिकले सहजरुपमा पानेपानीको उपभोग गर्न पाउने बताइन्, ‘खानेपानीको उपभोग मौलिक हक हो तर एउटा डाँडामा एक घर मात्र बसेकालाई खानेपानी दिन धेरै लागत लाग्छ, खानेपानी आयोजनाको माग पनि धेरै आइरहेको छ । स्थानीय तहको समन्वयमा प्राथमिकताको आधारमा नेपालका सबैले तीन वर्षभित्र खानेपानी सहजरुपमा पाउँछन् भने १० वर्षभित्र शुद्ध खानेपानी पिउने दीर्घ योजनासहित सरकारले काम सुरु गरेको छ ।’
त्यस्तै फन्डबोर्ड कार्यकारी निर्देशक लिलाप्रसाद ढकालले पानीको पुनःप्रयोग गरेर पानीलाई सिँचाई गरी कृषि उत्पादनमा जोड दिन सुझाव दिए । उनले पानी बोक्ने समयको बचत भएकोले यसलाई आयआर्जनमा सदुपयोग गरे राम्रो हुने बताए ।
फन्ड बोर्ड, फोकस नेपाल, नेपाल सरकारको सहयोग तथा स्थानीयको सहभागितामा एक करोड ३४ लाख ४२ हजार रुपैयाँ लागतमा धादिङको ज्वालामुखी गाउँपालिका ७ मा लिफ्टिङ सिस्टम खानेपानीको उद्घाटन गरिएको हो । आयोजनाका लागि फन्ड बोर्डको ३६ लाख ६२ हजार, जिल्ला विकास समिति धादिङको चार लाख ६९ हजार, चैनपुर गाविसको ७४ हजार, आरनढुङ्गा सामुदायिक बनको २ लाख ८९ हजार, अधेंरी सामुदायिक बनको दुईलाख ८१ हजार, उपभोक्ताबाट सात लाख १७ हजार, फोकस नेपालका ३४ हजार, महिला समुहको दश हजार, वार्डको टुक्रे योजना ११ हजार, ज्वालामुखी ७ नम्बर वडा कार्यालयको ८ लाख सहयोगमा निर्माण सम्पन्न भएको हो ।
स्थानीयले पानी सहजरुपमा पाएको भएपनि महँगो भएको बताएका छन् । मासिक रुपमा न्युनतम तीन सय रुपैया महसुल तिर्नुपर्छ । चार स्टेप विद्युत लिफ्ट गर्दा विद्युत महसुल महँगो हुदा मासिक शुल्क महँगो भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्र छत्कुलीले बताए । उनले उक्त मुल्य तिर्नसक्ने सबै उपभोक्ता सक्षम नभएकोले मन्त्रीको ध्यान आर्कषण समेत गराए । खानेपानीको निर्माण हुनुभन्दा पहिला एक गागे पानी ओसार्न र्कै लागि दुईघण्टासम्म हिड्नुपथ्र्याो भने धारामा घण्टौ लाइन लाग्नुपर्ने बाध्यता थियो ।
खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै काटथोक, डाँडाथोक, थापाथोक र चैनपुरका एक सय १६१ घरधुरी लाभाम्वित भएका छन् । सथै सालवास माध्यमिक विद्यालय, साना किसान कृषि सहकारी संस्था र अनकन्या मन्दिरमा पनि धारा जडान गरिएको उपभोक्ता समितिले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६