काठमाडाैं : धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको घटनामा फरार रहेका पर्सा सुवर्णपुर घर भई हाल कास्की बेगनास बस्ने ४४ वर्षीय प्रकाश अधिकारी भन्ने देवी रमन अधिकारीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट आइतबार पक्राउ गरेको हो ।
अधिकारीले २०५७ असार ८ गते भक्तपुर कटुञ्जे-८ बस्ने ३३ वर्षीया बिजयश्वरी प्रजापतीलाई उनको घरमा ७ महिनादेखि काम गरेको तलब बापतको ११ हजार रुपैयाँ दिन चाँसो नदिनुका साथै उल्टै ३ हजार रुपैयाँ चोरी गरेको आरोप लगाएको निहुँमा छुरा प्रहारबाट हत्या गरी नगद तथा सुनको चुरा, हिरा लगायतका गर गहनाहरु समेत चोरी फरार भएका थिए ।
हत्या पश्चात फरार रहेका अधिकारी भारतको वनारस हुँदै मुम्बई पुगी लुकीछिपि बस्दै आएकोमा पक्राउ पर्ने डरले निज प्रतिबादीले प्रकाश अधिकारी नामको छदम परिचय बनाएका र भारतीय सवारी चालक अनुमतिपत्र समेत प्रकाश अधिकारीको नामबाट बनाएको अनुसन्धानबाट खुल्न आएको जनाइएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६