दाङ : स्मार्ट छोरी बिहेबारी, बीस वर्ष पारि । सुन्दा यो व्याक्यांश सुन्दर छ । सुन्दा जति सुन्दर भए पनि यो वाक्यांश व्यक्तिगत जीवनमा कतिको लागू हुन्छ भन्ने कुराले बढी प्राथमिकता राख्छ । नेपालका कतिपय ठाउँ र भूभागमा यो व्याक्याशंले मेल खाँदैन ।
नेपाल सरकारको प्रावधान अनुसार छोरा वा छोरीले बीस वर्ष पुगिसकेपछि मात्र विवाह गर्नुपर्ने हुन्छ । तर त्यो प्रावधान देशका विभिन्न भूभागमा लागू भएको छैन । यही नीतिलाई अनुशरण गर्दै दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रममार्फत स्मार्ट छोरी बिहेबारी, बीस वर्ष पारि नारा सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा छोरीलाई विशेष प्राथमिकता दिई अबदेखि जन्मने हरेक छोरीलाई २० वर्ष नपुग्दासम्म मासिक एक सय रूपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइने बताइएको छ । उक्त रकम बैंकमा जम्मा हुने र २० वर्षपछि एकमुष्ट रूपमा प्राप्त हुने बताइएको हो ।
उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले यो कार्यक्रम साउन १ गतेदेखि सुरु हुने र साउन १ देखि जन्मिएका छोरीहरूको तथ्यांक जम्मा गरी उनीहरूको बैंक खातामा पैसा जम्मा गर्ने बताए ।
मेयर पाण्डेले यो कार्यक्रम नयाँ सोचका साथ सुरु गरेका र समाजमा छोरीप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न सक्ने अपेक्षा गरेको बताए । छोरीलाई सम्मानका साथ मासिक भत्ता दिने गरी नीति बनाएको बताउँदै उनले अहिले पनि समाजमा छोरी जन्मिँदा नाक खुम्च्याउने र छोरा हुँदा भोज खुवाउने चलन रहेकाले त्यसको अन्त्य गर्न यस्तो कार्यक्रम अघि सारिएको बताए ।
मेयर पाण्डेले भने- यो कार्यक्रमले छोरीलाई आर्थिक र सामाजिक रूपले पनि सक्षम गराउने विश्वास छ, छोरीमाथि हुने लैंगिक हिंसा न्यूनीकरण, छोरा–छोरीमा हुने विभेद हटाउनुका साथै समाजमा छोरीप्रतिको सकारात्मक धारणा विकास गर्ने अपेक्षा छ ।
आर्थिक रूपमा सबल भए छोरीको शिक्षामा सहयोग पुग्ने र महिला हिंसामा समेत कमी गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने उनले बताए । कार्यक्रमले बिद्यालयको पहुँच भन्दा बाहिर भएका छोरीहरू पनि बिद्यालय जान सक्ने पाण्डेले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६