काठमाडौं : नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट- १ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ ।
जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आईएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नास्टमा ग्राउण्ड स्टेसन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयअनुसार सो दिन उक्त भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।
नाष्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजेदेखि कार्यक्रम सुरु हुनेछ । भूउपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण देखाउनेछ , ढकालले भने, जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा)का दुई जना विज्ञ नेपाल आउने तयारी भइरहेको छ ।
त्यस दिन २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट- १, त्यसपछि श्रीलङ्काको रावन- १ र अन्तिममा जापानको युवुसु भूउपग्रह प्रक्षेपण हुने बताइएको छ । डेढ महlनाअघि नै उक्त भूउपग्रह ४०० किलोमिटरमाथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ ।
जाक्साले सो भूउपग्रह निर्माणका लागि नमुना तयार गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यस भूउपग्रहको आयु तीन महिनादेखि तीन वर्षसम्मको हुनेछ ।
सरकारले नेपालमा सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।
मङ्गलबारदेखि विज्ञान सडक मेला हुने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)ले पहिलो पटक नेपालमा संयुक्त रूपमा दुई दिने ‘विज्ञान सडक मेला- २०१९’ आयोजना गर्ने भएका छन् । समाजमा भएका अनुसन्धान र परिवर्तनका कुरालाई जनमानसमा प्रचार गरी विज्ञान र प्रविधिका माध्यमलाई मनोरञ्जनका साथ अघि बढाउने उद्देश्यका साथ मङ्गलबारबाट जावलाखेलमा उक्त सडक मेला आयोजना हुन लागेको हो ।
सो मेलाले सबै उमेर समूहका मानिसलाई विज्ञान देशव्यापी रूपमा आवश्यक रहेको जानकारी दिने नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । मेलामा वैज्ञानिक र सर्वसाधारणबीच विज्ञान, प्रविधि, नवीनता र परिवर्तसम्बन्धी विभिन्न विषयमा चर्चा परिचर्चा हुनेछ , ढकालले भने, मेलामा उपस्थित सबै उमेरका मानिससँग दोहोरो छलफल गरी धेरैभन्दा धेरै उपयोगी जानकारी हासिल गर्नेछौँ ।
सो मेलामा विज्ञान र प्रविधिका क्षेत्रमा गरिएका कामको दस्तावेज, दूरदर्शनका कार्यक्रम, विज्ञानका धुन, खानाका पसल राखिनाका साथै उपस्थित व्यक्तिको जनआवाज सङ्कलन गरिने बताइएको छ ।