काठमाडौं : नारायण रिना मेमोरियल फाउन्डेसनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ ।
संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउन्डेसनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्याआश्रम र बाजुराको विद्यालयलाई फाउन्डेसनले सहयोग गर्न लागेको जानकारी दिइन् ।
आफ्ना स्व बुबा नारायण केसी र स्व बहिनी रिना केसीको सम्झनामा स्थापना गरेको उक्त फाउन्डेसनले हरेक व्यक्तिको सुख र दुःखमा काम गर्ने अध्यक्ष कटुवालले बताइन् ।
घिमिरेलाई अमेरिका लगेर उपचार गराउन आवश्यक प्रक्रिया पूरा भइसकेको छ , उनले भनिन् । कार्यक्रममा अध्यक्ष कटुवालले जनावर उद्धार संस्थालाई एक हजार डलर सहयोग हस्तान्तरण गरेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६