दमौली : चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ ।
डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो । उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्ने छ ।
बरालले चितुवाको आक्रमणबाट मृत्यु भएकी बालिकाको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिए । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिकाबमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।
आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको शुक्रबार राति मृत्यु भएको थियो । बालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा लिन सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकसहितको ३० जनाको टोली खटिएको छ । बरालले भने, उक्त टोलीले बेलुकाको समयमा चितुवाको खोजीकार्यलाई तीव्रता दिएको छ । चितुवा नियन्त्रणमा लिन सक्दो प्रयास गर्ने छौँ ।
चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र एक बालिकाको मृत्यु भइसकेको छ । विसं २०७४ फागुन १ गते नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते नगरपालिका–४ जोखानेका चार वर्षीया रन्जिता लम्साल र मंसिर १५ गते नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
यसैबीच नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई समवेदना प्रकट गरेका छन् । आइतबार मृतकको घरमा पुगेर वरिष्ठ नेता पौडेलले मृत बालिकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दैै परिवारजनमा समवेदना व्यक्त गरे ।
सो अवसरमा पौडेलले बालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि सम्बन्धित निकायलाई सचेत गराइसकेको बताए । रासस
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६