कैलाली : तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ ।
रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्लाभर रहेका १५ उपशाखाबाट गरिएको क्षति विवरण संकलनको प्रारम्भिक रेकर्ड हो , जिल्ला रेडक्रस सोसाइटीको कार्यालयका कार्यालय प्रमुख मनोज उप्रेतीले भने, वास्तविक रेकर्ड आउन एक/दुई दिन लाग्छ ।
उनले वास्तविक रेकर्ड संकलनका लागि रेडक्रस, स्थानीय तह, स्थानीय प्रशासनका साथै सुरक्षा निकाय संयुक्तरुपमा खटिएको समेत जानकारी दिए । स्थलगत अनुगमनका क्रममा पूर्णरुपमा क्षति भएको देखिएको परिवारलाई रेडक्रसले राहत प्याकेज पनि उपलब्ध गराउँदै हिँडेको छ , उनले भने ।
त्यस्तै हावाहुरीका कारण कञ्चनपुरका ५ सय २५ बिजुलीका पोल भाँचिएका छन् । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले विद्युतर्फ पोल भाँचिनुका साथै धेरै ठाउँमा तारमा समेत क्षति पुगेको बताए ।
उनले विद्युतमा मात्रै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको बताए । उनले जिल्लाका अधिकांश ठाउँमा विद्युत् सञ्चालन भइसकेको बताए । कृष्णपुरको रैकवारबिचुवामा विद्युत् सञ्चालन हुन अझै दुई/तीन दिन लाग्न सक्छ , उनले भने, नयाँ पोल ल्याएर तार तान्ने काम हुँदै छ ।
क्षति विवरण संकलनसँगै विद्युत् सञ्चालन गर्न रातदिन टोली जिल्लाभर परिचालन भएको उनले जानकारी दिए । कञ्चनपुरमा कृष्णपुर नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ , उनले भने, क्षतिको यकिन विवरण आएपछि केन्द्रमा बजेट माग्ने योजनामा छौँ ।
त्यसैगरी यहाँका स्थानीय तहहरु पनि पीडितको राहत र क्षतिको विवरण संकलनमा सक्रिय देखिएका छन् । स्थानीयतह आपतकालीन राहतकोष घोषणा गर्नेदेखि घाइतेको उपचार खर्चमा समेत गम्भीर रुपमा लागिपरेका छन् ।
जिल्ला सुरक्षा समिति पनि हावाहुरीबाट पूर्णरुपमा क्षति व्यहोरोका स्थानीयवासीको भत्केका घर पुनःनिर्माण गर्ने र त्रिपाललगायतका राहत सामग्री वितरण गर्न छलफलमा जुटेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६