तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्तको जन्मथलो चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्ने बताएका छन् ।
तनहुँको भानु नगरपालिका- ४ चुँदी र ५ बरभञ्ज्याङ जोड्ने चुँदीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै उनले निर्माण भएको गुरुयोजनाअनुसार भानु जन्मथलोलाई पर्यटनको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिएका हुन् । वरिष्ठ नेता पौडेलले भने, नेपाली भाषाका धरोहर आदिकविको जन्मथलोको विकासका लागि साहित्यिक उद्यानको गुरुयोजना बनाएका थियौँ तर राजनीतिले अर्कै मोड लिएपछि चुँदी क्षेत्रसमेत ओझेलमा पर्न थाल्यो ।
स्थानीयबासी अग्रसर हुने हो भने चुँदीरम्घाको विकासका लागि आफूले नेतृत्व लिन तयार रहेको उनको भनाइ थियो । नेता पौडेलले भने, साहित्यमार्फत् पर्यटन विकास गर्न सम्भव छ, चुँदीरम्घालाई साहित्यिक उद्यानको रूपमा विकास गर्न बजेटको कमी हुँदैन । अन्तर्राष्ट्रिय स्तरबाट समेत लगानीको प्रतिबद्धता भइसकेको छ ।
फरक प्रसङ्गमा पौडेलले काङ्ग्रेस चुनावमा पराजित भएपछि विकासका योजना अलपत्र परेको आरोप लगाए । उनले भने, विकास गर्न चिन्तन, योजना र देशभक्ति आवश्यक पर्छ तर सरकार अहिले यो विषयमा अलमलिएको जस्तो देखिएको छ । वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, ऊर्जा विकास र पर्यटनमार्फत् देश समृद्ध बन्न सक्ने भएकाले सरकारले यी विषयलाई प्राथमिकतामा राखेर विकास योजना बनाउनुपर्ने सुझाव दिए ।
तत्कालीन जिल्ला विकास समितिमार्फत् २०७३ वैशाख १६ गते सुरु भएको पुलको निर्माण कार्य २०७५ वैशाख १३ गते सम्पन्न भएको थियो । दुई करोड ८९ लाख ३४ हजार ४७ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाइ २५ मिटर र चौडाइ ४.२५ मिटर रहेको जिल्ला समन्वय समितिका इञ्जिनियर सुरेश अधिकारीले जानकारी दिए ।
पुल निर्माण भएसँगै स्थानीयबासीलाई सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । उनले भने, पुल निर्माण नहुँदा वर्षायाममा चुँदीखोलाले मानवीय क्षति पुगेको थियो अब भने सहज भएको छ ।