सुनसरी : मंगलबार इटहरीका पत्रकारलाई नाको डाँडी भाँच्न एक करोड रुपैयाँ छुट्याएको र सुपारी दिएको बताएर चर्चामा आएका मेयर द्वारिकलाई चौधरीले आफ्नो सामान्य जीवन भएको बताएका छन् । तर मेयर चौधरीको इटहरी- १७ मा साढे दुई तल्लाको पक्की घर रहेको छ।
साविक इटहरी- २२ मा रहेको यो घरको पर्खाल सडक क्षेत्रमा बनेको छ। आफूलाई गोठमा बस्ने र भूमाफियाविरुद्ध भएको बताउने मेयर आफैँले सडक क्षेत्र मिचेको सोही वडाका एक जनप्रतिनिधिले बताए ।
इटहरीका मेयर भए पनि आफ्नो वडामा हारेका चौधरी भूमाफियाविरुद्ध भएको भन्ने तर आफैँ सबैभन्दा ठूलो प्लटिङ व्यवसायी भएको उनले बताए । नाम नबताउने सर्तमा आजको न्युजसँग तस्वीर उपलब्ध गराएर कुराकानी गर्दै उनले भने, गोठमा बस्ने र भूमाफियाविरुद्ध भएको अरूले पत्याउलान् तर गाउँलेले पत्याउँदैनन्।
उनले स्थानीय ठाउँमै आएर विस्तृत बुझेमा मेयरको यथार्थ पनि छर्लङ्ग हुने दाबीसमेत गरे ।
तर मेयर चौधरीले भने उक्त घर आफ्ना बाबुले बनाएको र बुबा बितेपछि आफ्नो नाममा नामसारी भएको बताए । उनले भने, त्यो कहाँ मेरो घर हो ? बुबाले बनाएको घर मेरो हुन्छ ?
उनले उक्त घरले बाटो नमिचेको बताए । यो सब झूट कुरा हो, अरूले ८२ फिट छाड्दा यो घरमा ९० फिट छाडिएको छ बाटोलाई , उनले भने ।
मेयर चौधरीले उक्त घर भाडामा लगाइएको र आफू अझै गोठमै बसिरहेको दाबी पनि आजको न्युजसँग गरे ।
हेर्नुहोस् फोटो :
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६