भोजपुर : कच्चा पदार्थ प्रशस्त मात्रामा पाइए पनि तयारी गरिएका सामानले बजारभाउ नपाउँदा भोजपुरको राडीपाखी व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्बर ४ चरम्बीकी रानीमाया राई बताउँछिन् ।
उत्पादित सामग्रीले उचित मूल्य नपाएपछि भोजपुुरका राडीपाखी तथा अल्लोका घरेलु उद्योगहरू बन्द हुने अवस्थामा पुगेका हुन् । भेडाको ऊनबाट बनाइने राडीपाखी तथा अल्लोबाट तयार गरिएका सामग्रीको बजार भाउ खस्केपछि आफूहरूलाई व्यवसाय सञ्चालन गर्न पनि समस्या भएको व्यवसायीहरूको गुनासो छ ।
बजार अभावमा उत्तरी साल्पासिलिछो गाउँपालिका र पूर्वी अरुण गाउँपालिकाका विभिन्न भेगमा वर्षौंदेखि चल्दै आएका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । ‘मरिमरी राडी बनाएर बजार लग्यो, नबिकेपछि घरै फर्काउनुपर्छ । महिनौँ लगाएर बनाएको राडीलाई सस्तोमा खोज्छन्, सस्तोमा दिँदा गरेको निमेक नै उठ्दैन’, व्यवसायी रानीमायाले भनिन्, ‘अब राडीपाखी बुन्ने भेटिँदैन । भाउ नै नपाएपछि गाउँमा राडीपाखी बनाउनै छाडिसके ।’
जिल्लाको उत्तरी भेगको भेडापालन हुने स्थानमा भेडाको ऊन र उत्तरी कुलुङ, दोभाने, खाटाम्मा, पूर्वको जरायोटार, चरम्बी, याकु लगायतका स्थानमा अल्लोको रेसाबाट विभिन्न राडी, लुकुनी र घुमराडी बनाइन्थ्यो ।
अहिले पछिल्लो समय त्यसको उत्पादन क्रमशः घट्न थालेको छ । उचित मूल्य नपाएपछि व्यवसायीहरूमा निराशा छाएको हो । अल्लोको रेसा निकाल्ने, सुकाउने, पकाउने, कुट्ने, धुने लामो प्रक्रियाबाट सामान तयार गरिन्छ ।
धेरै श्रम लगाएर तयारी गरिएका ती सामान बजार नजिकमा नहुँदा पनि थप समस्या हुने गरेको साल्पासिलिछो गाउँपालिका ४, खाटम्माकी अल्लो व्यवसायी मालती कुलुङले बताइन् । उनी भन्छिन्, ‘एकातिर भाउ छैन, अर्कातिर नजिक बजार छैन । तयारी सामान भोजपुर सदरमुकामसम्म पुर्याउनै तीन दिन पैदल हिँड्नुपर्छ । गाडीमा महंगो ज्याला लाग्छ । यो व्यवसाय गर्नै चर्को भइसक्यो ।’
भौगोलिक विकट ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडा लगायत विभिन्न सामग्रीहरू निर्माण गर्ने गर्छन् । गाउँमा बजार नभएपछि त्यसै थन्क्याएर राख्नुपर्ने बाध्यता रहेको व्यावसायी मीना कटुवाल सुनाउँछिन् । बलियो र वर्षौं टिकाउ हुने राडीपाखी र अल्लोका कपडाभन्दा आधुनिक नयाँ फेन्सी सामान सर्वसाधारणको रोजाइमा पर्ने भएकाले उद्योगहरू ओझेलमा परेको व्यवसायी बताउँछन् ।
घरेलु उद्योगहरू बन्द हुने क्रमले भेडापालक कृषक तथा अल्लो काढ्ने किसानको समेत पेसा धरासायी बनेको छ । पेसा संकटमा परेको सुनाउँदै षडानन्द नगरपालिका ९, किमालुङका भेडापालक लाक्पानेरु शेर्पा भन्छन्, ‘पहिले राडीपाखी बनाउन एक जनाले सय किलोसम्म भेडाको ऊन लैजान्थे । आजभोलि कहिलेकाहीँ मात्र फाट्टफुट्ट एक–दुई जना मात्र आउँछन् । त्यो पनि १०÷१२ केजी लैजान्छन् । किन्ने कोही नभएपछि भेडाको ऊन नै झिक्न छोडिसक्यौँ ।’
घरेलु तथा साना उद्योग विकास समिति भोजपुरले अल्लो तथा राडीपाखी उद्योगलाई सामूहिक उद्योगको रूपमा विकास गर्ने योजना रहेको बताएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६