काठमाडौं : नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का विजयी भएका छन् ।
शनिवार राजधानीमा सम्पन्न संघको १७ औं कार्यसमितिको निर्वाचनबाट प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतले पछि पार्दै खड्का अध्यक्षमा विजयी भएका हुन् ।
कूल ३ सय ८७ जना मतदानमा सहभागी भएका थिए । जसमा रविन्द्रले २ सय १८ मत पाए भने सरिताले १ सय ६१ मत प्राप्त गरिन् । उपाध्यक्षमा रेजिना उप्रेती र सानूकुमार ताम्राकार निर्वाचित भए ।
उपाध्यक्षका ४ उम्मेदवारमा रेजिनाले २ सय ४३ मत र सानुकुमारले १ सय ७५ मत ल्याए । महासचिवमा चेतबहादुर सिंह राजा १ सय ८७ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी सञ्जय खतिवडाले १ सय ५६ मत ल्याए । पनाह अधिकारी १ सय ९४ मत ल्याएर सचिवमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माको पक्षमा १ सय ६९ मत पर्यो ।
सहकोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य भारी मतले निर्वाचित भइन् । उनको पक्षमा २ सय २० मत पर्दा प्रतिद्वन्द्वी डिबी बम्जनले १ सय ३३ मत ल्याए । कोषाध्यक्ष पदमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका थिए ।
१० जना निर्वाचित सदस्यतर्फ शितल केसीले सर्वाधिक मत ल्याए । अन्य ९ सदस्यमा जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा निर्वाचित भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६