पाल्पा : पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा उनीहरूकाे मृत्यु भएका हाे ।
उनका अनुसार अन्य आठ जना बिरामी परेका छन् । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दुई बालिकाकाे मृत्यु भएको वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए ।
बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी छन् ।
उनीहरु चार परिवारका सदस्य हुन् । बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट उनीहरू बिरामी पर्न थालेका थिए ।
वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६